यस वर्ष मनसुनजन्य विपदबाट १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान
काठमाण्डाै २७ जेठ । आज देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायु, पूर्वी वायु र स्थानीय वायुको समेत प्रभाव रहेकाले देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए । अहिले देशका धेरै ठाउँमा बादल लागेर केही ठाउँमा सामान्य पानी परिरहेको छ भने दिउँसोपख धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको उनले बताए ।
मनसुनी प्रणाली पनि नेपाल नजिकै आइसकेकाले भोलि बेलुकीपख वा पर्सिसम्म मनसुन भित्रने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच यस वर्ष बाढी, पहिरोलगायत मनसुनजन्य विपदबाट १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान गरिएको छ ।
गएकाे वर्ष औसत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति ब्यहोरेको र यस वर्ष औसतभन्दा धेरै पानी पर्ने आकलन गरिएको यसपालिको मनसुनमा झन् चुनौतीपूर्ण रहने अनुमान मौसमविद्ले गरेका छन् । बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार प्रभावित हुने अनुमान गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभागले यसअघि नै बढी पानी पर्ने आकलन सार्वजनिक गरिसकेकाले सबै सचेत हुनुपर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए।