एमालेको नेपाल पक्षले मत दिँदा जोगियो सुदूरपश्चिममा माओवादी केन्द्रका मुख्यमन्त्रीको पद
कैलाली २५ जेठ । सुदूरपश्चिममा माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउनुभएको छ । मङ्गलवार (आज) भएकाे मतदानमा उहाँको पक्षमा ३० र विपक्षमा नाै मत खसेको छ ।
प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखसहित २५, माओवादी केन्द्रका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना सांसद छन् । मुख्यमन्त्री भट्टलाई नेकपा एमालेको माधवकुमार नेपाल पक्षका १७ जना सांसदले मत दिएका छन् । एमालेको ओली पक्षका सात र जनता समाजवादी पार्टीका दुई जना सांसदले भने विपक्षमा मत दिए ।
५२ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक थियो । प्रदेश सभामा माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका दुई जना प्रदेश सभा सदस्य छन् । कांग्रेसका १२ जनाले मतदानमा भाग लिएनन् । एमालेको नेपाल पक्षले मत दिएपछि कांग्रेस सांसद तटस्थ बसेका हुन् ।
आज बिहान बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको थियो । त्यस्तै कांग्रेस संसदीय दलको बैठकले आवश्यक परेमा विश्वासको मत दिने निर्णय गरेको थियो । एमालेकै सांसदले विश्वासको मत पुगेपछि कांग्रेसका सांसद मतदानमा सहभागी भएनन् ।
मुख्यमन्त्री भट्टले प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत लिनुभएको हो ।