आमा ! म ढिलो आए
मन भित्र अनगिन्ति मायाको बर्षात् गराउँदै
मातृत्व प्राप्तिको उत्कट चाहनाका निम्ति
आफैले आफैलाई मनभरि हँसाउँदै
कसलाई के थाहा ?
बिस्तारै आफैसंग मुस्कुराउँदै
यस धर्तीमा
तिमीले मेरा पैतलाको
डोब कोरेको
सम्झना लिएर
आमा !
म अलि ढिलो आएँ ।
वात्सल्य प्रेम चुलिएको थियो
खुसिले मन उजेलिएको थियो
ठिक त्यसै बेला
तिमीले मेरो परिचय खोतल्यौ
समयको आराधना गर्दै
टुकुटुकु हिड्ने
मेरा कलिला पैतलाका निम्ति
एउटा सुन्दर बानि किनिदियौै
मलाई जीवनका कविता पढ्ने
झनै सुन्दर आँखाको नानी किनिदियौ
मेरो आनाकानी र बेवास्तासित
मिजासिलो पैठेजोरी खेलेर
लामो जीवनयात्राको तारतम्य मिलायौ
आज अचानक,
त्यही सुकोमल मायाको सट्टामा
सेवाको धार मेटिएको बट्टामा
तिम्रो स्विकृतिभित्र अटाउन
र सम्झनाको साँध हटाउन
टुप्लुक्क आएँ
आमा !
म अलि ढिलो आएँ ।
मलाई के थाहा !
तिमीले मलाई कुन बाटो हिंडाउन खोजेकी हौ
मेरा निम्ति कति जीवनहरुलाई रिझाउन खोजेकी हौ
यौवनको मातमा परेको बेला
मेरो खस्रो आवाजले
तिम्रो मातृवात्सल्यरुपी नदीमा
सलल बगिरहेको प्रेममाथि चोट पु¥याएको भए
मैले स्विकार गर्नै पर्छ
तिम्रो मार्गनिर्देशक सिद्धान्तसँग
मैले अलिकति हार्नै पर्छ
आज,
यो झिल्के समाजसँग जिस्किँदै गर्दा
र सम्झनाको डोरीमा पिङ खेलेर निस्किदै गर्दा
मेरो प्रौढताको अदालतबाट
स्नेहको धरौटी लिएर
तिम्रो वत्सल न्यायालयमा बुझाउन
जसो तसो आएँ
आमा !
म अलि ढिलो आएँ ।
२५ मंसिर २०६४ नवयुवा मासिक