दाङको कोरोना अस्पताल बेलझुण्डीमा अक्सिजन अभाव, एक जनाको ज्यान गयो, अन्य बिरामीकाे ज्यान जाेखिममा



दाङको कोरोना अस्पताल बेलझुण्डीमा अक्सिजन अभाव, एक जनाको ज्यान गयो, अन्य बिरामीकाे ज्यान जाेखिममा

दाङ १९ बैशाख । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा अक्सिजनको अभाव भएको छ । शनिवारमात्रै अस्पतालमा शय्या (बेड) थपिए पनि अक्सिजन सकिएको अस्पतालले जनाएको छ । अहिले कोरोना विशेष अस्पतालमा एक सिलिन्डर पनि अक्सिजन नभएको अस्पताल व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

अक्सिजन सकिएको र आफूले सम्बन्धित निकायमा शनिवार (हिजो) नै जानकारी गराए पनि अहिलेसम्म आपूर्ति नभएको वलीले बताए । काेरोना अस्पताल बेलझुण्डीमा अक्सिजन छैन, स्थिति सङ्कटपूर्ण भइ सक्यो व्यवस्थापक वलीले भन्नुभयो अक्सिजन खोजौँ, बेलझुण्डी पुर्‍याऔँ, बिरामीकाे जीवन रक्षामा सबै लागाैँ । आज (आइतबार) मात्रै दुई जना बिरामीको ज्यान गएको छ । अहिले अस्पतालमा ५८ जनाको उपचार भइरहेको छ ।

बेलझुण्डी अस्पतालमा अक्सिजन अभाव हुँदा एक जनाको ज्यान गयो

यता दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव हुँदा एक जनाको ज्यान गएको छ । शनिवार (हिजाे) रातिदेखि अक्सिजन अभाव भएको र अक्सिजनकै अभावका कारण केहीबेर अघि एक जना कोरोनाका बिरामीको ज्यान गएको अस्पतालका सम्पर्क व्यक्ति द्रोण वलीले उज्यालोलाई जानकारी दिए ।

कोरोना विशेष अस्पताल बेलझुण्डी अस्पतालमा ५९ जना बिरामी रहेकोमा ४० जना सिकिस्त छन् । अक्सिजन नहुँदा कैयौँको ज्यान जोखिममा परेको वलीले बताए  ।  अस्पतालले नेपालगञ्जबाट अक्सिजन ल्याउँदै आएको छ । अक्सिजन लिन गएको ट्रक लाइनमा बस्दा ढिलाइ भएको र यता बिरामीको ज्यान गएको वलीले बताए । अहिले भर्खरै ट्रकले ६५ वटा सिलिन्डर अक्सिजन ल्याएको तर यसले पनि राति ८ बजेसम्मलाई मात्रै पुग्ने वलीको भनाइ छ ।

‘अक्सिजन अभाव भएर एक जनालाई १५ मिनेट मात्रै दिने र त्यै सिलिन्डरको अक्सिजन अर्को बिरामीलाई दिने गरेर पालो मिलाएका छौँ, अक्सिजन कम हुँदा केही छटपटीमा हुनुहुन्छ, अवस्था डरलाग्दो छ’, वलीले भने ।

पीसीआरका लागि तुलसीपुरमै स्वाब सङ्कलन सुरु 

कोरोना सङ्क्रमण भए/नभएको परीक्षणका लागि अब दाङको तुलसीपुरमै स्वाब सङ्कलन गर्न थालिएको छ । तुलसीपुरमा रहेको मेट्रो सीटी पोलिक्लिनिक प्रालीले कोरोना परीक्षणका लागि स्वाब सङ्कलनको काम सुरु गरेको हो । पीसीआर परीक्षणका लागि घोराही वा अन्य ठाउँमा जानुपर्ने बाध्यतालाई मध्यनजर गरी तुलसीपुरमै स्वाब सङ्कलनको व्यवस्था गरिएको पोलिक्लिनिकका सञ्चालक वसन्त योगीले जानकारी दिए ।

पाेलिक्लिनिकले तुलसीपुरको अरनिको मैदानमा आज ८ देखि १२ बजेसम्म स्वाब सङ्कलन गरिरहेको छ । भोलिबाट त्यही ठाउँमै दैनिक बिहान ७ देखि १२ बजेसम्म स्वाब दिन सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे