गढवाका दुई सय पचास स्थानको माटो परिक्षण गरिदै



गढवाका दुई सय पचास स्थानको माटो परिक्षण गरिदै

शिबराज पन्थी, गढवा ७ माघ ।

लुम्बिनी प्रदेश सरकारको भूमी ब्यवस्था तथा कृषि सहकारी मन्त्रालय मार्फत गढवा गाउँपालिकाका २ सय ५० स्थानको माटो परिक्षण गरिने भएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लाहरु मध्ये दाङको गढवा र प्युठानको बिजुवार गाउँपालिका गरि जम्मा २ स्थानीय तहमा यसबर्ष माटोको गुणस्तर परिक्षण गरिने भएको माटो तथा मल परिक्षण प्रयोगशाला बाँके खजुराका कार्यालय प्रमुख अमरराज शर्मा घिमिरेले जानकारी दिए ।

मंगलबार एक कार्यक्रमका बिच कृषि उत्पादनमा माटोको गुणस्तर सुधार गर्न माटोको उर्बराशक्ति र नक्सा तयारीको ३ दिने कार्यशाला उद्घाटन गरिएको छ । प्रयोगशालाका प्रमुख अमरराज शर्मा घिमिरेको अध्यक्षतामा सुरु भएको कार्यशालाको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले कृषि उत्पादन बृद्धि गरी किसानहरुको समृद्धिका लागि गढवा गाउँपालिकाका आठवटै वडाहरुमा माटो परिक्षण गर्न थालिएको बताए । प्रदेश सरकारले १२ जिल्लाका २ स्थानीय पालिकामा मात्र यो अभियान संचालन गर्न थालेको र गढवा गाउँपालिकालाई यो अवसर प्रदान गरेकोमा धन्यबाद ज्ञापन गरे ।

माटोको उर्बरा शक्ति बढाउन प्रांगारिक र कम्पोष्ट मलको बढी प्रयोग गर्नुपर्ने र माटोमा भएको अम्ल र क्षारको परिक्षण गर्न जरुरी भएको माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकेले जनाएको छ । उद्घाटन कार्यक्रममा गाउँपालिकाका लेखा अधिकृत, शम्भुराज आचार्य, पशुसेवा शाखाका प्रमुख अनन्तराज रेग्मी, कृषि शाखाका प्रमुख कर्ताराम यादव, वडाध्यक्षहरु बालचन्द्र ठकूरी हमाल, तुलसीराम अधिकारी, सद्दाम सिद्दिकी, इन्जीनीयर बिनय यादव र अगुवा कृषकहरुको उपस्थिति रहेको थियो । तीन दिन सम्म संचालन गरिने कार्यशाला पछि दक्ष प्राबिधिकहरु परिचालन गरि आठबटै वडाका २ सय ५० स्थानको माटोको नमूना संकलन गरि प्रयोगशालामा पठाइने र नतिजा बमोजिमको नक्सा तयार गरी गाउँपालिकालाई हस्तान्तरण गरिने प्रयोगशालाका प्रमुख घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे