देशभर १० लाख ४० हेक्टर खेतीयोग्य जमिन बाँझो, दाङमा अहिले सम्म ३ हजार ९ सय ४० हेक्टरमा मात्रै रोपाई



देशभर १० लाख ४० हेक्टर खेतीयोग्य जमिन बाँझो, दाङमा अहिले सम्म ३ हजार ९ सय ४० हेक्टरमा मात्रै रोपाई

काठमाडौँ १६ असार । देशभर १० लाख ४० हेक्टर जमिन बाँझो रहेको पाइएको छ । ३० लाख कृषियोग्य जमिनमध्ये १३ लाख हेक्टरमा धान खेती हुन्छ । अर्थात् कुल जमिनको १५ प्रतिशत जमिनमा धान खेती हुन्छ । एक तथ्याङ्कअनुसार करिब पाँच लाख हेक्टर धान खेती गर्ने जमिन बाँझो रहेको छ । जसलाई सदुपयोग गर्न सकियो भने २० लाख मेट्रिक टन भन्दा बढी धान उत्पादन हुने कृषि मन्त्रालयले जनाएको छ ।

खेतीयोग्य बाँझो जग्गा उपयोग गर्ने सम्बन्धि कार्यविधि २०७२ अनुसार नेपालको कुल खेतीयोग्य जग्गा ४१ लाख २१ हजार हेक्टरमध्ये हाल ३० लाख ९१ हजार हेक्टरमा मात्र खेती हुन्छ । कृषि मन्त्रालयका अनुसार ६५ लाख मेट्रिक टन धान उत्पादन भयो भने धानमा आत्मनिर्भर हुन सकिन्छ । अहिले ५५ लाखदेखि ५१ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । तर बाँझो जमिन उपयोगको नीति कागजमै सीमित छ ।

वास्तविक किसानहरुसँग जमिनको स्वामित्व नहुनु, अनुपस्थित भूस्वामित्वको स्थिति कायमै रहनु, कृषिमा श्रम गर्ने युवा शक्तिको पलायन, न्यून उत्पादकत्व, कृषि उत्पादन सामग्रीको कमी, कम नाफामुखी व्यवसाय र अपेक्षित रुपमा सम्मानित पेशाको रुपमा विकसित हुन नसक्नु लगायतका कारण खेतीयोग्य जमिन बाँझो रहेको कृषि मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयका प्रवक्ता डा.प्रकाश सञ्जेलका अनुसार नेपालमा कुन प्रकृतिको कति जमिन कहाँ बाँझो छ, त्यसको यकिन तथ्याङ्क मन्त्रालयसँग छैन । कुनै निकाय तथा संस्थाले आफ्नो तरिकाले अध्ययन गरे पनि त्यो आधिकारिक नभएकाले आगामी आर्थिक वर्षमा बाँझो जमिनबारे कृषि मन्त्रालयले अध्ययन गर्न लागेको जानकारी दिए । उनका अनुसार आगामी आर्थिक वर्षका लागि हरेक प्रदेशलाई एक–एक करोड गरी सात करोड रुपैयाँ अध्ययनका लागि विनियोजन गरिएको छ ।

दाङमा असार १५ सम्म ३ हजार ९ सय ४० हेक्टरमा मात्रै रोपाई

यता दाङमा असार १५ सम्म १० प्रतिशत मात्रै धान रोपाइ भएको छ । गत वर्ष यो समयमा ७० प्रतिशा धान रोपाई भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । यस वर्ष पश्चिम क्षेत्रमा ढिलो गरी वर्षा भित्रिएकाले धान रोपाइमा असर पुगेको छ ।

आकाशे पानीको भरमा खेती हुने ठाउँमा रोपाई सुरु हुन सकेको छैन भने नदी तथा खोलाको पानी सिंचाई हुने क्षेत्रमा रोपाई भइरहेको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिए ।

उहाँका अनुसार जिल्लामा ६५ हजार ९ सय ८० हेक्टर खेतीयोग्य जमिनमध्ये ३० हजार ४ सय हेक्टरमा धान खेती हुनेगरेकोमा यस वर्ष अहिलेसम्म ३ हजार ९ सय ४० हेक्टरमा मात्रै रोपाई सम्पन्न भएको छ ।

राप्ती नदीको पानीले सिंचाई हुने देउखुरी क्षेत्रमा रोपाइँ अन्तिम चरणमा पुगेको छ भने जिल्लाको पश्चिम क्षेत्रमा बबई नदीको पानीले सिचाई पुगेको ठाउँमा पनि रोपाई भइरहेको छ । अन्य क्षेत्रमा रोपाई सुरु हुन नसकेको कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे