कृषि क्रान्ति बिना देशको विकास सम्भव छैन : भागवत विश्वासी



कृषि क्रान्ति बिना देशको विकास सम्भव छैन : भागवत विश्वासी

भालुवाङ १७ पुस । नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सचिव भागवत विश्वासीले कृषि क्रान्ति बिना देशको विकास हुन नसक्ने बताएका छन् । पार्टी निकट अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश समन्वय समितिको शनिवार भालुवाङको राप्ती पुल पारी होटल इभरल्याण्डमा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै केन्द्रिय सचिव विश्वासीले सो कुरा बताएका हुन् ।

देशमा विद्यमान खेती प्रणालीलाई विस्थापित गरी आधुनिक तथा व्यवसायीक खेती प्रणाली गरे मात्र देशको अर्थतन्त्र बलियो हुने बताए । देशमा जुन सुकै पार्टीको सरकार आएपनि नेकपा एकिकृत समाजवादी पार्टी निकट किसान महासंघले मात्र कृषि प्रणालीमा परिवर्तन ल्याउन सक्ने बताए ।

प्रमुख अतिथि समेत रहनु भएका विश्वासीले देश अहिले संकटको अवस्थामा रहेको बताउँदै ओलीको पार्टी नेकपा एमालले देशलाई बर्वादीको अवस्थामा लगिसकेकाले अव देशमा नेकपा एकिकृत समाजवादी पार्टीको सरकार आउने दावी समेत गरेका छन् । त्यसका लागि बामगठबन्धनको सरकारलाई बलियो बनाउन आवश्यक रहेको पनि उनले बताए ।

अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका इन्चार्ज निर्मल सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष बलराम बास्कोटा, महासंघका केन्द्रिय महासचिव प्रमेश पोख्रेल, पार्टीका केन्द्रिय सदस्यहरु शारदा स्वणर्कार, भिउमान घर्ती, पार्टीका प्रदेश नेता मुकुन्दराज रोका, पार्टीका दाङ जिल्ला अध्यक्ष सुरामणी बेल्वासे लगायतका वक्ताहरुले बोलेका थिए । युवराज पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सञ्चालन महासंघका प्रदेश अध्यक्ष सुनिता बेल्वासेले गरेकी थिइन् ।

त्यसै गरी बैठकले सुनिता बेल्वासेको अध्यक्षतामा १०१ सदस्यीय प्रदेश स्तरीय किसान महासंघ गठन गरेको छ । नव गठित महासंघको उपाध्यक्षमा अग्नी अर्याल, दिपक खनाल, सचिव अर्जुन अधिकारी, सहसचिव हरिश चन्द्र यादव र रिता पौडेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे