दाङमा लगातार परेको पानीले धानबालीमा ठूलो क्षति, किसानहरु चिन्तित



दाङमा लगातार परेको पानीले धानबालीमा ठूलो क्षति, किसानहरु चिन्तित

दाङ १ कार्तिक । दाङमा धानबाली भित्र्याउने बेला पानी परेपछि धेरै ठाउँका किसान चिन्तित भएका छन् । लगातार परेको पानीले धानबालीमा ठूलो क्षति पुर्याएको छ ।  जसका कारण  किसान चिन्तित भएका हुन् । दशैँ सकिएलगत्तै धान भित्र्याउने योजना बनाएका किसानलाई समस्या भएको छ ।

दशैँको बेला धान पाक्ने समय हुने र घर गाउँमा जनशक्ति पनि धेरै हुने भएकाले धान पाकेको ठाउँमा यही बेला धान काट्ने र भित्र्याउने गरिन्छ । तर हिजाे देखि पानी पर्न थालेपछि टीका सकिएलगत्तै धान काट्ने किसानको योजना बिफल भएको छ । कतिपय ठाउँमा त काटेर खेतमै सुकाएको धान पानीले भिजाएको छ । धान काट्ने बेलामा पानी पर्ने संकेत नदेखिए पनि धान काटेर सुकाउने बित्तिकै पानी परेपछि नोक्सानी भएको किसानको गुनासो छ । धान नकाटेको ठाउँमा पनि वर्षाले धानको बोट ढलेको छ । लगातारको पानीले खेतबारीका धानसँगै अन्य बाली साथै तरकारीमा समेत क्षति पुर्‍याएको किसानले बताएका छन्।

मौसमको अवस्था बुझेर मात्रै धान भित्र्याउन कृषि विज्ञको सुझाव छ । मौसमविदले बुधबार सम्म नै पानी पर्ने बताएका छन् । धान पाके पनि पानीले भिजाउनुभन्दा केही दिन पर्खनु नै उपयुक्त हुने कृषि विज्ञको भनाइ छ । धान काटेर खेतमै छोड्दा नोक्सान हुन सक्ने भएकाले सकेसम्म धान नकाट्न धानबाली विज्ञ हरिकृष्ण उप्रेतीले सुझाव दिए ।

धान धेरै नै पाकेर काट्नै पर्ने अवस्था भएमा काट्दै  झार्दै गरेर  सुरक्षित ठाउँमा लगेर राख्न सकिने उनले बताए । उनका अनुसार धान काट्ने बित्तिक्कै पानी नपर्ने ओभानो ठाउँमा लगेर फिँजाएर राख्नुपर्छ र पछि  घाम लागेका बेला सुकाउनुपर्छ । ओभानाे ठाउँमा लगेर राखेको धानलाई  पनि बेला बेलामा चलाउने गर्नुपर्छ । त्यसो गर्न सकेमा नोक्सान हुन बाट जोगाउन सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे