दाङका किसानले लगाएको टमाटर बोटमै कुहिन थाल्यो, बजारीकरणको माग



दाङका किसानले लगाएको टमाटर बोटमै कुहिन थाल्यो, बजारीकरणको माग

तुलसीपुर ३० वैशाख । दाङका किसानले लगाएको टमाटर नबिकेपछि बोटमै कुहिन थालेको छ । कोरोना महामारी तिब्र रुपमा बढेसंगै भएको लकडाउनले किसानको टमाटर बारीमा कहिन थालेको छ । उत्पादित टमाटरलाई बजारीकरण गर्ने व्यबस्था नहुँदा किसानहरुलाई लाखौ नोक्सान भएको बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नंं. १३ मा करिब ३० बिघा क्षेत्रफलमा टमाटर खेति भइरहेको छ । तर, बजारीकरणमा समस्या हुँदा अहिले बोटमै कुहिने अबस्थमा रहेको स्थानीय किसान खुमानन्द अर्यालले बताए । “मैले मात्रै ८ विघा ३ कठ्ठा क्षेत्रफलमा टमाटर खेति गरेको छु, अहिले लकडाउनको समयमा करिब २५० क्यारेट टमाटर विक्री नभएर कुहिने अबस्था छ”, उनले भने “ बजारीकरण नहुनुले ठूलो समस्या निम्त्यायो ।” एक क्यारेटमा २३ किलो हुने उनले बताए ।

चिस्यान केन्द्रमा पनि राख्न नमिल्ने भएको र उत्पादित टमाटर काठमाडौं, चितवन, बुटवल, नेपालगञ्ज, धनगढीलगायतका क्षेत्रमा ढुवानी गर्न नसकिएकाले पनि यस्तो समस्या आएको उनले बताए । “बोटबाटै ३५÷४० रुपँैया किलोमा बिक्री गर्नुपर्ने हो”, उनले भने “ तर, नबिकेपछि नष्ट गर्नलाई उल्टो ३०÷४० रुपँैया लगानी लगाउनु पर्ने अबस्था देखिएको छ ।” ३०÷३५ जना काम गर्ने कामदार नै राखेको उनले बताए । उनका अनुसार काठमाडौं पठाउँदा प्रतिकिलोको १० रुपँैया र नारायघाट पठाउँदा प्रतिकिलोको ७ रुपैँया भाडा नै लाग्ने गर्छ ।

सरकारले बजारीकरणमा सहज बनाएमा किसानको लगानी खेर नजाने युवा कृषक शिशिर रावतले बताए । रावतले त्यहाँ १० कठ्ठामा टमाटर खेती गरेका छन् । “पहिलो पटक फल लागेको टमाटर अनिवार्य टिप्नु नै पर्छ, यदि यो पटक नटिपेमा अर्को पटक फल लाग्दा समस्या हुन्छ”, उनले भने “त्यसैले जसरी पनि टिप्नै पर्छ, तर, विक्री गर्नलाई बजारीकरण छैन, हामीले किलोको २ रुपैँयादेखि ५ रुपैँयासम्म विक्री गर्ने गरेका छौं ।”

त्यहाँका किसानहरुले विघाको बार्षिक ५० हजार रुपँैयामा जग्गा भाडामा लिएर खेति गरिरहेका छन् । यसकालागि बजारीकरण गर्न ढुवानीकालागि पहल लिनुपर्ने बताए । जिल्लाका हरेक किसानहरुले लगाएको टमाटर अहिले बोटमै कुहिने अबस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे