मलेसियाले नेपाल सहित चार देशका नागरिकको प्रवेशमा रोक लगाउने



मलेसियाले नेपाल सहित चार देशका नागरिकको प्रवेशमा रोक लगाउने

काठमाण्डौ २३ बैशाख । मलेसियाले नेपालीसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाउने भएको छ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण रोकथामका लागि नेपाल, बङ्गलादेश, पाकिस्तानी र श्रीलंकाका नागरिकको प्रवेशमा रोक लगाउने निर्णय भएको मलेसियाको स्थानीय सञ्चार माध्यम द स्टारले खबर लेखेको छ ।

निश्चित समयका लागि रोक लगाइएको भए पनि कहिलेदेखि कहिलेसम्म लगाउने भन्ने बारे खुलाइएको छैन । मलेसिया सिनियर मन्त्री दातुक सेरी स्लामाइ साबरी याकोबले चार देशका नागरिकको प्रवेशमा रोक लगाउने घोषणा भने गरिसकेका छन् । यो निर्णय अनुसार कूटनीतिक र सरकारी पासपोर्ट भएका बाहेक अन्य कुनै पनि भिसामा यी देशका नागरिक मलेसिया प्रवेश गर्न पाउने छैनन् ।

भारतमा पछिल्लो समय कोरोना महामारी बढेसँगै अप्रिल २८ देखि नै मलेसिया र भारतबीच हुने उडानहरूमा मलेसियाले प्रतिबन्ध लगाइसकेको छ । यी देशबाट आउने आफ्ना नागरिकले पनि अनिवार्य रूपमा १४ दिन क्वरेण्टीन बस्न पर्ने मलेसियाले जनाएको छ ।

नेपाल सरकारले पनि बिहीबार मध्ये रातीदेखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । भारतमा भने हप्तामा दुई दिन उडान हुनेछ । नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएसँगै वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र फर्कंनेहरु पनि रोकिएका छन् । यस्तै नयाँ श्रम स्वीकृति पनि बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । अनलाइनबाट पुनः श्रम स्वीकृति भने लिन सकिनेछ । विदेशबाटै पनि अनलाइन पुनः श्रम स्वीकृति लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे