दाङका एकसहित बाँकेमा तीन कोरोना संक्रमितको मृत्यु



दाङका एकसहित बाँकेमा तीन कोरोना संक्रमितको मृत्यु

बाँके २१ पुस । बाँकेमा कोरोना संक्रमणबाट दाङका एक जना बालक सहित तीन जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना र भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दाङको घोराही उपमहानगरपालिका-१८ का १३ वर्षीय बालक र कञ्चनपुरको महेन्द्रनगर-५ का ६० वर्षीय पुरुष तथा नेपालगञ्जस्थित भेरी अस्पतालमा बाँकेको जानकी गाउँपालिका-३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

दाङका १३ वर्षीय बालक पुस १९ गते शिक्षण अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनको पुस २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा मंगलबार बिहान ७ः४५ उनको मृत्यु भएको अस्पतालले जनाएको छ । साथै कञ्चनपुरका ६० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बिहान ७ः२० बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी १७ पुसमा अस्पताल भर्ना भएका थिए । त्यसको भोलिपल्ट कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । बाँकेका ६८ वर्षीय पुरुषमा पुस ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकै दिन उनी भेरी अस्पतालमा भर्ना भएकोमा उपचारको क्रममा सोमबार राति १२ः२५ बजे उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे