LISTEN LIVE RADIO

गाउँपालिका अध्यक्षलाई पक्राउ गरी जेल चलान गर्न पक्राउ पूर्जी जारी



गाउँपालिका अध्यक्षलाई पक्राउ गरी जेल चलान गर्न पक्राउ पूर्जी जारी

पोखरा ३ भदौ । जिल्ला अदालत कास्कीले लेनदेन मुद्दामा जलजला गाउँपालिका प्रमुख यामबहादुर मल्ललाई पक्राउ गरी जेल चलान गर्न पक्राउ पूर्जी जारी गरेको छ । अदालतले गत चैत २७ गते लेनदेन मुद्दामा उनलाई ६ महिना कैद सजाय सुनाएको थियो ।

अटोमोबाइल व्यवसायी ध्रुव थापाले मल्लविरुद्ध ठगी मुद्दामा गतवर्ष उजुरी दिएका थिए । २०६८ सालमा भएको लेनदेनको विषयमा थापाले मल्लविरुद्ध मुद्दा दायर गरेका थिए । कैद सजाय सुनाएको ४ महिनासम्म पक्राउ नपरेपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा जिल्ला अदालत कास्कीले पक्राउ गर्न पत्राचार गरेको हो । नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा विजयी मल्लले भने साथीलाई सहयोग गर्दा फसेको प्रतिक्रिया दिएका छन् ।

मल्लले राजेश बोहरा नामका व्यक्तिले हिमालयन इन्भेस्टमेन्ट नामक अटोमोबाइल कम्पनीबाट गाडी किन्दा आफू जमानीमात्रै बसेको बताए । ‘साथी (राजेश बोहरा) ले गाडी किन्दा पैसा नपुगेर म जमानी बसिदिएको हो । म पनि यातायात व्यवसायी नै भएका हिसाबले सहयोग गरेको हो,’ उनले भने, ‘अहिले आएर फसाइयो ।’

१० लाख रुपैयाँको जमानी बसेको आफूले झन्डै दोब्बर १९ लाख रुपैयाँ तिरिसकेको मल्लले जानकारी दिए । ‘साथीले नतिरेपछि मै तिर्छु भनेर जमानी बसेको हो नि ! उसले नतिरेपछि मैले तिरिसकें । मैले तिर्नैपथ्र्यो । जमानी बस्दा फसियो,’ उनले भने । उनले बुधबार नै तोकिएको रकम बुझाएको बताए ।

मल्लले आसन्न नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गरेर आफूमाथि राजनीतिक प्रतिसोध साँधिएको समेत आरोप लगाए । उनले आफ्नो चरित्र हत्या भएको र त्यसको कानुनी उपचार खोज्ने बताए ।

‘गाडी मैले किनेको पनि होइन । नतिरेको भए सहमतिमै हुन सक्थ्यो । अहिले गाडी पनि उसैले (व्यवसायी थापा) ले लगेको छ । आउँदो चुनावमा सभापतिको दाबेदार मै हुँ,’ उनले भने, ‘मलाई हराउन राजनीतिक प्रतिसोध साँधियो । महाधिवेशनलाई लक्षित गरेर चरित्र हत्या गरियो ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे