LISTEN LIVE RADIO

पहिरो खसेपछि गुल्मीको तम्घास–रिडी र रिडी–रुद्रवेणी सडकखण्ड ठप्प



पहिरो खसेपछि गुल्मीको तम्घास–रिडी र रिडी–रुद्रवेणी सडकखण्ड ठप्प

गुल्मी १ असार । लगातारकाे वर्षाका कारण पहिरो खसेपछि गुल्मीको तम्घास-रिडी र रिडी-रुद्रवेणी सडकखण्ड ठप्प भएको छ । तम्घास-रिडी सडकखण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका-१३ को भगाँरी खोलामा गएराति पहिरो खसेपछि सडक बन्द भएको हो ।

त्यसैगरी गुल्मीकै रिडी-रुद्रवेणी सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका-२ साँघुरेमा बिहान सडक माथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि यो सडक पनि ठप्प भएको छ ।

सडक खुलाउन प्रयास भइरहे पनि पानी परिरहेकाले समस्या भएको रेसुङ्गा नगरपालिका-१३ का वडाध्यक्ष खुमबहादुर खत्रीले बताउनुभयो । सडक बन्द भएपछि एम्बुलेन्स, निर्माण सामग्री, दूध र खाद्यान्न ओसारपसार गर्ने गाडी बीच बाटोमै रोकिएका छन् ।

लगातारकाे वर्षाका कारण जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनारा र पहिरोग्रस्त क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन र सुरक्षित ठाउँमा जान भनेको छ ।

वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो खसेको र सडक भत्किएका कारण गुल्मीको तम्घास- ईन्द्रेगौँडा,रुद्रवेणी-पूर्तिघाट लगायत एक दर्जनभन्दा बढी सडकहरु समेत बन्द भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे