कोरोना जोखिम बढेपछि कृष्णनगर नाका सहित भारत सँगका १४ नाकामा कडाई



कोरोना जोखिम बढेपछि कृष्णनगर नाका सहित भारत सँगका १४ नाकामा कडाई

दाङ ८ चैत्र । कोरोना भाइरसको जोखिम बढेपछि सरकारले कपिलवस्तुकाे कृष्णनगर नाका सहित  भारतसँग सीमा जोडिएका १४ नाकामा निगरानी बढाएको छ । त्यहाँ हेल्थ डेस्कको सङ्ख्या बढाएको र आवश्यक कर्मचारी पनि खटाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्  ।

सीमा क्षेत्रको मुख्य नाकामा निगरानीलाई बढाइएको उनले बताए । भारतको महाराष्ट्र, गुजरात लगायतका राज्यमा कोरोनाको सङ्क्रमण दर फेरि तीव्र गतिमा फैलिएकाले त्यहाँ कार्यरत केही नेपाली गाउँघर फर्किन थालेका छन् । यसले सङ्क्रमण नेपालमा पनि भित्रिन  सक्ने जोखिम बढेकाले घर फर्किनेहरूको नाकामा नै परीक्षण गर्ने तयारी गरिएको हो ।

मुख्यगरी भारतसँगका १४ नाकामा निगरानी बढाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिए  । गड्डाचौकी, गौरीफन्टा, बेलहिया, कृष्णनगर, जमुना नाकालगायतमा कडा निगरानीसहित एन्टिजेन परीक्षण नै गर्ने तयारी भएको उनले जानकारी दिए ।

सीमानाकालाई थप व्यवस्थित बनाउन आज स्थानीय सरकारसहित सम्बन्धित निकायलाई पत्राचार गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले बताए। यस्तै, कोरोना भाइरसको नियन्त्रणका लागि भारतबाट फर्किएका नेपालीलाई १४ दिन घरभित्रै क्वरेण्टीनमा बस्न आग्रह गरिएको छ ।

यसबीचमा ठूलाठूला सभा आयोजना भएकाले अब यस्ता सभा सम्मेलन रोक्ने तयारी पनि गरिएको छ । कोरोनाको जोखिम फेरि बढेकाले भीडभाड कम गर्न, अनिवार्य मास्क लगाउन, बेलाबेलामा साबुनपानीले हात धुन र भौतिक दूरी कायम गर्न विज्ञले सुझाव दिएका छन् । कोरोना सङ्क्रमण फैलिएसँगै भारतका केही ठाउँमा लकडाउन  घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे