इन्धनकाे मूल्य बढेसँगै हवाई भाडा पनि बढ्याे



इन्धनकाे मूल्य बढेसँगै हवाई भाडा पनि बढ्याे

काठमाण्डाै ७ चैत्र । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाई सेवा प्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायु सेवा सञ्चालकको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ ।

सङ्घले शुक्रवार विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध वायु सेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको उल्लेख गरेको छ । निगमले चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रति–लिटर दुई रुपैयाँ बढाउने निर्णय गरेको थियो । त्यस निर्णय अनुरूप हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ त्यही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य बढाइएको सङ्घले जनाएको छ ।

सङ्घका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार हवाई गन्तव्यमा साविकको मूल्यमा सबैभन्दा बढी ९० रुपैयाँ र कम्तीमा छोटो दुरीमा पाँच रुपैयाँ भाडा बढेको छ । काठमाण्डाै–धनगढी गन्तव्यमा ९०, काठमाण्डाै–भद्रपुरमा ६० रुपैयाँ भाडा बढेको छ भने पर्वतीय उडानमा ७० रुपैयाँ बढेको छ ।

हवाई इन्धनको मूल्य प्रति–लिटर दुई रुपैयाँ थपघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था सरकारले गरेको छ । बढेको इन्धनअनुसारको भाडादर नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भएको सङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे