LISTEN LIVE RADIO

बालुवाटारमा नेकपा एमालेको संसदीय दलको बैठक बस्दै, नेपाल-खनाल समूह सहभागी नहुने



बालुवाटारमा नेकपा एमालेको संसदीय दलको बैठक बस्दै, नेपाल-खनाल समूह सहभागी नहुने

काठमाण्डाै ५ चैत । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा सूर्य चिह्नबाट चुनाव जितेका सबै सांसदहरुलाई बैठकमा डाकिएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए  ।अध्यक्ष ओलीले संसदीय दलको बैठक बोलाउनु भए पनि माधवकुमार नेपाल र झलनाथ खनाल समूह भने बैठकमा सहभागी नहुने भएको छ । राष्ट्रिय कार्यकर्ता भेला जारी रहेकाले संसदीय दलको बैठकमा सहभागी हुन नसक्ने माधव नेपाल समूहका नेता योगेश भट्टराईले जानकारी गराएका छन् ।

यो समूहले हिजोदेखि ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको छ । हिजो भेलाको पहिलो दिन वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक प्रस्ताव पेस गर्नुभएको थियो । आजका लागि डाकिएको संसदीय दल र चैत ७ मा डाकिएको केन्द्रीय कमिटी बैठकमा समेत आफूहरु सहभागी नहुने नेता भट्टराईको भनाइ रहेको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार एमालेलाई संगठन र विचारका रुपमा २०७५ सालको जेठ २ मा फर्काउन तयार भएपछि मात्र केन्द्रीय कमिटीको बैठकमा जाने नेपाल-खनाल समूहको अडान छ । गएको फागुन २८ गतेको ओली समूहको बैठकले जिम्मेवारी हेरफेरसहित महत्त्वपूर्ण निर्णय गरेलगत्तै नेपाल-खनाल समूह थप असन्तुष्ट छ ।

निर्णय फिर्ता नलिएसम्म आफूहरुको सङ्घर्ष जारी रहने नेपाल-खनाल समूहका नेताहरुले बताएका छन् । यो समूहले बालुवाटारमा आयोजना भएको चियापान कार्यक्रमसमेत बहिस्कार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे