LISTEN LIVE RADIO

संसद विघटन मुद्दाको पेसी आज ‘हेर्दाहेर्दै’मा हुँदै



संसद विघटन मुद्दाको पेसी आज ‘हेर्दाहेर्दै’मा हुँदै

काठमाडौं ११ फागुन। संसद विघटनसम्बन्धमा सुनुवाइको सबै प्रक्रिया सम्पन्न गरेको सर्वोच्च अदालतले आज ‘हेर्दाहेर्दै’मा पेसी तोकेको छ ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा रिटमाथि सुनुवाइ भएको थियो । त्यसपछि रिटका पक्ष, विपक्ष र एमिकस क्युरी (अदालतको सहयोगी) वकिलहरुको बहस नोट पेस गर्न सोमबारसम्मको समय सीमा दिइएको थियो ।

सर्वोच्चले अब संसद विघटनविरुद्ध परेका रिटहरुमा फैसला सुनाउने तयारी गरेको छ । स्रोतका अनुसार अब बढीमा दुई-तीन दिनभित्र सर्वोच्चले फैसला सुनाउने छ । सर्वोच्चले संसद विघटनलाई सदर गरिदिन्छ कि बदर भन्नेमा सर्वत्र चासो छ ।

पार्टीभित्रैबाट आफूलाई काम गर्न नदिइएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरी आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेका थिए ।

ओलीको यो कदमको सर्वत्र विरोध हुनुका साथै संसद विघटन असंवैधानिक भएको जिकीरसहित सर्वोच्चमा १३ वटा रिट दायर भएका थिए । संसद विघटनको कदमलगत्तै सत्तारुढ नेकपासमेत दुई खेमामा विभाजित भएको छ ।

एउटा खेमाको नेतृत्व ओलीले र अर्को खेमाको नेतृत्व प्रचण्ड र माधव कुमार नेपालले गरेका छन् । प्रचण्ड-नेपाल पक्षले संसद विघटनलाई प्रतिगामी कदम भन्दै देशव्यापी आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे