आज देखि खुल्याे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फाराम 



आज देखि खुल्याे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फाराम 

काठमाण्डाै १४ पुस । नौ महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फाराम खुला भएको छ । कोरोना महामारीको कारण गएको चैतदेखि बन्द भएको अनलाइन फाराम आज (मङ्गलबार) देखि सातवटै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागका निर्देशक एवम् सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले जानकारी दिए ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर लिखित तथा ट्रायल परीक्षा लिने व्यवस्थासहित फाराम खुला गरेको उहाँले बताउनुभयो । अहिलेलाई दैनिक कोटा तोकेर आवेदन लिन थालिएको र अब नियमित परीक्षा हुने पनि उनले बताए । अहिले मोटरसाइकलमा दैनिक एक सय, स्कुटर र चारपाङ्ग्रे गाडीमा ५०/५० गरी कुल दुई सय जनाले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरेको पनि निर्देशक भुसालले जानकारी दिए ।

लामो समयपछि फाराम खुलेकाले आवेदन दिनेको चाप भएकोले अनलाइन साइट नखुल्ने समस्या देखिएको र समस्या समाधानको प्रयास भइरहेको पनि उहाँले बताए । काठमाण्डौ उपत्यकामा चारसहित देशभर विभागका १७ कार्यालयबाट अनुमतिपत्र वितरण, नवीकरण हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे