कक्षा १२ को नतिजा सार्वजनिक : पुरक परीक्षा भदौ २५ र २६ गते



कक्षा १२ को नतिजा सार्वजनिक :  पुरक परीक्षा भदौ २५ र २६ गते

काठमाण्डौ १८ साउन ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका छन् ।

यस्तै नन ग्रेड अर्थात् अनुत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या ४७ दशमलव ०९ प्रतिशत रहेको छ । यस वर्ष कक्षा १२ को परीक्षामा नियमिततर्फ सहभागी तीन लाख ९० हजार आठ सय ६८ विद्यार्थीमध्ये दुई लाख तीन हजार आठ सय ४७ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८/७९ का २८ दशमलव २६ प्रतिशत र २०७६/०७७ का ६२ दशमलव ०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गएको वैशाख १४ गतेदेखि शुरु भएको परीक्षामा जम्मा चार लाख ९१ हजार चार सय ९७ जना विद्यार्थी सहभागी थिए । अघिल्लो वर्षको परीक्षामा २०७९ सालमा ५१ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

आज सार्वजनिक भएको कक्षा १२ को नतिजामा बढीमा दुई विषयमा नन्ग्रेडेड  विद्यार्थीका लागि आउँदो भदौ २५ र २६ गते पुरक परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णयसँगै पुरक परीक्षाको मिति पनि तय गरेको हो । नियमित परीक्षार्थीका रुपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य सबै विषयमा ‘डी’ वा त्यो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा नन्ग्रेडेड  वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीले पुरक परीक्षा दिन पाउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे