प्युठानमा एकै घरका तीन जनामा हैजाको सङ्क्रमण पुष्टि



प्युठानमा एकै घरका तीन जनामा हैजाको सङ्क्रमण पुष्टि

प्युठान १८ साउन । प्युठानमा एकै घरका तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । गौमुखी गाउँपालिका वडा नम्बर ५ की ७१ वर्षीया लक्ष्मीकुमारी मल्लसहित उनकै परिवारका तीन जनालाई हैजा पुष्टि भएको गौमुखी गाउँपालिका प्युठानमा स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिएका छन् ।

केही दिनदेखि देशका विभिन्न ठाउँमा हैजाका बिरामी भेटिने क्रम बढेको छ । हैजा जीवाणुमार्फत् हुने एक किसिमको सङ्क्रमण हो । यसले पखाला लाग्ने र शरीरमा पानीको कमी हुने हुन्छ । यो रोगको सजिलै उपचार हुन्छ । तर यदि उपचार नगरिए केही घण्टामै मानिसको ज्यानसमेत जान सक्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिबीको रोग भनी व्याख्या गरेको छ । हैजाले सफा पानी र आधारभूत सरसफाइ नभएका ठाउँमा बस्ने मानिसहरूलाई बढी असर गर्छ । चौलानीजस्तो पखाला लाग्नु, घण्टौँसम्म बान्ता हुनु, थकान, गाडिएका आँखा, सुख्खा मुख, एकदमै तिर्खा लाग्नु, छाला सुख्खा हुनु, पिसाब नलाग्नु, रक्तचाप कम हुनुलगायत हैजाका मुख्य लक्षण हुन् ।

हैजाबाट बच्नको लागि शौचालय गएपछि र खाना पकाउनु तथा खाना खानुअगाडि साबुनपानीले हात धुन, उमालेको पानी मात्रै पिउन, दाँत माझ्दा पनि खानेपानी प्रयोग गर्न, फलफूल र तरकारी राम्रोसँग पखालेर खान डब्ल्यूएचओको सुझाव छ । हैजाको लक्षण देखिए जीवनजल, झोलिलो पदार्थ खाएर शरीरमा पानीको मात्रा बढाउनुपर्छ । यस्तै घरमै पनि नुन र चिनी मिसाएर पानी पिउनुपर्छ । उचित स्याहार गर्दा हैजाका बिरामी चाँडै निको हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे