देशभरका पालिकाहरुले आज बजेट ल्याउँदै



देशभरका पालिकाहरुले आज बजेट ल्याउँदै

काठमाडौं १० असार । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि स्थानीय तहले आज सोमबार बजेट सार्वजनिक गर्दै छन् । ७ सय ५३ पालिका मध्ये केहीले यसअघि नै बजेट सार्वजनिक गरिसके पनि अधिकांश स्थानीय पालिकाले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ । सोही व्यवस्था अनुसार आइतबारसम्म बजेट नल्याएका सबै स्थानीय निकायले आज आफ्नो एक वर्षे आय व्यवको विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ ।

हिजोसम्म ३८ स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार कोशी प्रदेशका दुई, मधेश प्रदेश ६, बागमतीका ६, गण्डकी प्रदेशमा १४ लुम्बिनीका ३, सुदूरपश्चिम प्रदेशका तीन तथा कर्णालीका प्रदेशको १ स्थानीय तहले बजेट पेस गरेका छन् ।

आज बाँकी सात सय १५ स्थानीय तहले बजेट पेस गर्नुपर्ने हुन्छ । असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे