LISTEN LIVE RADIO

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यात कारागार चलान 



अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यात कारागार चलान 

काठमाण्डाै २८ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालत काठमाडौँले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।

बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको ठहर गर्दै आइतबार पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेयले जानकारी दिएका छन् ।

न्यायाधीशहरू प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बस्न्यातलाई कारागार चलान गर्न आदेश दिएको हो । उनी माथि भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्न भूमिका खेलेको अभियोग लागेको थियो ।

अख्तियारले पूर्वप्रमुख आयुक्त बस्नेतलाई विशेष अदालत काठमाण्डौमा गएको वर्ष माघ २२ गते मुद्दा दायर गरेको थियो । अख्तियारले उनी सहित एक सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको छ । जसमध्ये एक सय १० जनालाई भ्रष्टाचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइ मुद्दा दायर भएको थियो ।

बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबी समेत गरेको छ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियारले मुद्दा दायर गरेको मध्ये भूतपूर्व उपप्रधानमन्त्री र तीन पूर्वमन्त्री समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे