भोली र पर्सी वर्षाको सम्भावना : काटेको धान भित्र्याइहाल्न र आज धान नकाट्न मौसमविद्को आग्रह



भोली र पर्सी वर्षाको सम्भावना : काटेको धान भित्र्याइहाल्न र आज धान नकाट्न मौसमविद्को आग्रह

काठमाण्डाै २८ असाेज । देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । धेरै ठाउँमा बिहानै देखि हुस्सु कुहिरो लागेको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्न थालेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज धेरै ठाउँमा बादल लाग्ने सम्भावना छ । आज केही बेर घाम लागे पनि फेरि बादल लाग्ने उनले बताए । भोली र पर्सी पानी पर्ने अनुमान छ । खासगरी पश्चिमी क्षेत्रमा भोली र पर्सी लगातार जसो पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिए । उनका अनुसार पश्चिमी क्षेत्रको तुलनामा मध्य र पूर्वी क्षेत्रमा कम वर्षा हुने अनुमान छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव आउँदो बुधवार देखि हट्दै जाने मौसमविद् प्रतिभा मानन्धरले बताए। वर्षाको सम्भावना रहेकाले आज धान नकाट्न र हिजो अस्ति काटिएको छ भने भित्र्याइहाल्न किसानलाई मौसमविद्को सुझाव छ । देशका धेरै ठाउँमा धान पाकेको छ । दशैँको फूलपाती अघि नै धान भित्र्याउने तयारीमा किसान छन् । मौसमविद् मानन्धरले बुधवारदेखि मौसममा सुधार आउने भएकाले त्यसपछि मात्र धान काट्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे