नेपाली विद्यार्थी लिन आज राति साढे २ बजे नेपाल वायु सेवा निगमको जहाज इजरायल जाँदै



नेपाली विद्यार्थी लिन आज राति साढे २ बजे नेपाल वायु सेवा निगमको जहाज इजरायल जाँदै

काठमाण्डाै २४ असाेज । सरकारले इजरायलमा रहेका नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेकाे छ । आज बुधवार बसेकाे मन्त्रिपरिषद् बैठकले इजरायलमा रहेका नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री एनपी साउदसहितकाे टाेलीलाई पठाउने निर्णय भएकाे सरकारी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए ।

नेपाली विद्यार्थी लिन आज राति साढे २ बजे नेपाल वायु सेवा निगमको जहाज इजरायल जाँदैछ । नेपालबाट दुबई ‘ट्रान्जिट’ भई जहाज इजरायल पुग्ने छ । निगमले गरेको तयारीको आधारमा सबै कुरा यथावत् रहेमा निगमको जहाज भोली बिहीबार बिहान ९ बजे इजरायल पुग्नेछ र त्यहाँबाट ९ बजेर १० मिनेटमा उडेर भोली राति साढे ८ बजे नेपाल अवतरण गर्ने तालिका छ ।

परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार उद्धार हुन तथा नेपाल फर्कन चाहने तीन सय २४ जना नेपालीले राजदूतावासको अनलाइन रजिस्ट्रेशन प्रणालीमार्फत विवरण उपलब्ध गराएका छन् । विवरण दिनेमध्ये दुई सय ८८ जनाले नेपाल फर्कन र ३६ जनाले स्थानान्तरण हुन चाहेको बताएका छन् । प्यालेस्टाइनी लडाकु समूह हमासले गएकाे शनिवार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परि १० जना नेपालीको ज्यान गएको थियो भने चार जना घाइते भएका छन् । एक जना अझै सम्पर्क विहीन छन् । उनकाे खाेजी भइरहेकाे परराष्ट्र मन्त्रालयले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे