राप्तीकाे बराह प्राथमिक विद्यालय बगासाेतीमा एउटै कक्षामा सासु, बुहारी, छोरी र नाति पढ्दै



राप्तीकाे बराह प्राथमिक विद्यालय बगासाेतीमा एउटै कक्षामा सासु, बुहारी, छोरी र नाति पढ्दै

देउखुरी २४ असाेज । राप्ती गाउँपालिका–१ बगाहसोती निवासी सरस्वती गाहाले सानो छँदा पढ्न पाएनिन् । घर नजिक विद्यालय पनि थिएन । टाढा पढ्न जान दिएनन् । जसले गर्दा उनले एक अक्षरसम्म चिन्न पाएनिन् । आफ्नो नाम लेख्नसम्म आउँदैन । उनलाई नाम लेख्न नजान्दाको पीडाले सताइरहन्थ्यो । तर अब आफ्नो नाम लेख्न जान्ने चाहना पूरा गर्न उनी नियमित विद्यालय जान थालेकी छिन् । गाहा कक्षा १ मा भर्ना भएर पढिरहेकी छिन् । रोचक त के छ भने एउटै कक्षामा सासु, बुहारी, छोरी र नाति गरी चारजनाले पढ्न थालेका छन् । शिक्षा आर्जन गर्न उमेर र जस्तोसुकै परिस्थितिले पनि छेक्दैन भन्ने उदाहरण फेरि पुष्टि भएको छ । ५१ वर्षीया सासु सरस्वती गाहा, ३५ वर्षीया बुहारी मेनुका, छोरी मीना र नाति तेजस कक्षा एकमा भर्ना भएर पढिरहेका छन् ।

‘इच्छा जागेर आयो । नाम मात्र लेख्न जानमला भनेर हो’– उनले भनिन्– ‘पहिला बुद्धि पनि आएन । छोरालाई पढाउने, छोरीलाई नपढाउने थियो । अहिले छोरीलाई पनि छोरा सरह पढ्न पठाछौं । बुढेसकाल लागेर बुद्धि पलायो । आफै पनि पढ्न थालेको छु ।’ नाम मात्रै भए पनि लेख्न सकिएला भनेर सरस्वती विद्यालयमा पढ्न थालेकी छिन् । ‘नजानेको कुरा नातिहरुसँग सोधेर यता त्यता गर्छु’– उनले भनिन्– ‘अरु नजाने पनि नाम मात्रै लेख्न पाए त मलाई धेरै होला भनेर त्यति आशा छ ।’ राप्ती गाउँपालिकाको पहाडी वस्ती वडा नं. १ को बगासोतीमा रहेको बराह प्राथमिक विद्यालयमा कक्षा एकदेखि चारसम्म मात्रै पढाइ हुन्छ । ३२ घरधुरीमा फैलिएको यो वस्तीका बालबालिका यही विद्यालयमा पढ्ने गरेका छन् ।

यस वर्षदेखि भने विद्यालयमा गृहिणी आमाहरुले समेत पढ्न थालेका हुन् । कक्षा एकदेखि चारसम्म दशजना आमा भर्ना भएका छन् । मदी कुमारी राना कक्षा ४ मा भर्ना भएकी छिन् । उनले आफ्नो नाम लेख्न र अक्षर चिन्न जानेकाले उनलाई कक्षा ४ मा भर्ना गरिएको हो । पढ्न पाउँदा धेरै खुशी छिन् । रोचक त के छ भने राना यस भन्दा अघि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष थिइन् । ‘नयाँ कुरा जानम्ला, सिकम्ला भनेर यो स्कुलमा भर्ना भएको हुँ’– उनले भनिन्– ‘अघि बढम्ला भन्ने लागिरहने । तर नजान्दा आफै खुम्चिनुपर्ने बाध्यताले मलाई पढ्न सिकायो ।’

यो विद्यालय व्यवस्थापन गर्ने जिम्मा पनि महिलाहरुलाई सुम्पिएको छ । अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिको जिम्मेवारी पाउनु भएकी मेनुका राई समेत कक्षा चारमा भर्ना भएर पढिरहेकी छिन् । सानो छँदा पढ्ने अवसरबाट बञ्चित मेनुकाले अहिले आफ्नो नाम लेख्न र दुईचार अक्षर चिन्नकै लागि विद्यालयमा भर्ना भएको बताइन् । ‘सानो छँदा दुःखको कारण पढ्न पाइएन । उमेर गयो । त्यही भएर पढ्न पाइएन’– उनले भनिन्– ‘अहिले यो स्कुलमा साना विद्यार्थी भाइबहिनीहरुसँग पढ्न पाउँदा खुशी छु । शुरु–शुरुमा लाज लाग्यो । अहिले त रमाइलो लाग्छ ।’

भालुबाङ पुरानो बजार नजिकबाट पश्चिम उत्तर तर्फको चुरे पहाड उक्लिएपछि पुगिन्छ राप्ती गाउँपालिका वडा नं. १ को बगासोती गाउँ । यहाँका आमाहरु छोराछोरीसँगै विद्यालयमा पढ्न जाने गरेका छन् । आमाहरु आफ्नो नाम लेख्न र किताव पढ्न सक्ने बन्नको लागि विद्यालयमा भर्ना भएका हुन् । आफ्ना छोराछोरीसँगै विद्यालयमा पढ्न पाएकोमा आमाहरुमा बेग्लै खुशी छाएको छ । चालु शैक्षिक सत्रमा ३१ जना विद्यार्थी भर्ना भएका छन् । जसमध्ये १० जना गृहिणी आमा छन् । कक्षा एकमा छ जना, कक्षा २ मा तीनजना र कक्षा ४ मा एकजना भर्ना भएका हुन् ।

विद्यालयमा आमाहरु भर्ना भएपछि उनीहरुको पढ्ने र लेख्ने सीपमा अभिबृद्धि भएको विद्यालयका प्रधानाध्यापक भीष्मा विकले बताइन् । ‘चलिरहेको शैक्षिक सत्रमा दशजना गृहिणी आमाहरु विद्यालयमा भर्ना भएकी छिन् । पढ्न आउछिन् । केही नयाँ कुरा सिकम्ला भन्ने इच्छा उनीहरुमा देखेको छु’– उनले भनिन्– ‘हामीले पनि उनीहरुलाई केही कुरा सिकाउन पाउँदा खुशी छौं ।’ नाम लेख्न सक्ने, लेखेको अक्षर पढ्न सक्ने हुने उनीहरुको चाहना भएकाले त्यही अनुसार पढाउने गरेको प्रधानाध्यापक विकले बताइन् । गृहिणी आमाहरुले देखाएको यो हिम्मतलाई विद्यालय परिवार, समुदाय र समग्र स्थानीय तहले समेत प्रोत्साहन गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे