सर्वोच्चद्वारा ‘रिगल’ लाई आममाफी दिनुको कारण माग, परिवारको सुरक्षा व्यवस्था मिलाउन निर्देशन



सर्वोच्चद्वारा ‘रिगल’ लाई आममाफी दिनुको कारण माग, परिवारको सुरक्षा व्यवस्था मिलाउन निर्देशन

काठमाण्डाै १८ असाेज । व्यक्ति हत्यामा दोषी ठहर भएका ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिएकोमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ ।

नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी ‘रिगल’ लाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज बिहीवार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले असोज २४ गते ५ बजेभित्र कारणसहित लिखित जवाफ पेस गर्न विपक्षीको नाममा आदेश दिएको हो । यस्तै सर्वोच्चले रिटको टुङ्गो नलागुन्जेल निवेदक तथा उनका परिवारलाई सुरक्षा प्रदान गर्न गृह मन्त्रालयका नाममा आदेश दिएको छ ।

यस्तै रिटमा समावेश भएको कानुनी प्रश्नको जटिलता र महत्त्वको विचार गर्दा यसलाई पूर्ण इजलासमै लैजान उपयुक्त भएको पनि आदेशमा उल्लेख छ । यो मुद्दालाई अग्राधिकारमा राखेर असोजको २५ गते नै सुनुवाइ गर्न पनि आदेशमा उल्लेख छ । यो मुद्दामा महान्यायाधिवक्ता आफैँलाई समेत बहसमा उपस्थित गराउन सर्वोच्चले महान्यायाधिवक्ताको कार्यालयलाई भनेको छ ।

चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको कसुरमा जेल परेका ‘रिगल’ को १२ वर्ष कैद सरकारले संविधान दिवसका अवसरमा माफी दिएपछि चौतर्फी विरोध भइरहेको छ । मानन्धरकी श्रीमती भारतीले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे