उपचुनावलाई लक्षित गरि चितवन र तनहुँमा पर्ने मुख्य राजमार्गमा सार्वजनिक गाडी चलाउन रोक



काठमाण्डाै १० वैशाख । उपचुनावका लागि चितवन र तनहुँमा पर्ने मुख्य राजमार्गमा आज सार्वजनिक गाडी चलाउन रोक लगाइएको छ । त्यस्तै बारामा पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीरगञ्ज राजमार्गमा लामो दूरीकाबाहेक अरु गाडीलाई बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज अत्यावश्यकबाहेक अन्य गाडी चलाउन रोक लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार आज बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उपचुनाव हुने क्षेत्रका राजमार्ग एवं भित्री सडकमा गाडी चलाउन रोक लगाइएको छ । चितवन–२ मा पर्ने राजमार्गसहितका सबै सडकमा अत्यावश्यक सेवा एम्बुलेन्स र दमकल बाहेकका अन्य गाडी चल्न रोक लगाइएको छ । तर यस अघि प्रशासन कार्यालय चितवनले राजमार्गमा गुड्ने लामो दूरीका गाडीलाई चल्न दिने बताएको थियो ।

गृह मन्त्रालयको निर्णय कार्यान्वयन र उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय अनुसार पछिल्लो निर्णय भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिएका छन् । चितवन–२ मा पूर्व–पश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग पर्छन् । यो निर्णयसँगै राजमार्ग भएर पूर्व र पश्चिम जाने र काठमाण्डौ–पोखरातर्फ जाने लामो दूरीका गाडी पनि सञ्चालन हुन नपाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय तनहुँले पनि आज पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ–१ मा अत्यावश्यक बाहेकका गाडी चल्न रोक लगाएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले निकाल्नुभएको सूचनामा आज बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म राजमार्गमा समेत गाडी चलाउन नपाइने उल्लेख छ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको पुलदेखि दमौलीमा रहेको मादी पुलसम्म र डुम्रे बेशीसहर सडक खण्ड, गोरखा आँबुखैरेनी सडक खण्ड र दमौली दुईपिप्ले सडक खण्डमा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका छन् ।

यस्तै, बारामा पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीरगञ्ज राजमार्गमा लामो दूरीकाबाहेक अरू अरु गाडीलाई बन्द गरिएको छ । बारामा नेपाल–भारत ६५ किलोमिटर सीमानाका बन्द गरिएको छ । चितवन–२, तनहुँ–१ र बारा–२ मा मतदान सुरु भएको छ । प्रतिनिधि सभा सदस्य चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदाताले बेलुका ५ बजेसम्म मतदान गर्न पाउनेछन् । उपचुनाव भइरहेका क्षेत्रमा आज सार्वजनिक बिदा छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे