तराईमा हावाहुरी, पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना



तराईमा हावाहुरी, पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

काठमाण्डाै ६ वैशाख । केही दिनदेखि बढेको गर्मी अबको तीन दिन घट्ने अनुमान गरिएको छ । आज, भोली र पर्सी हिजो अस्तिको जस्तो गर्मी नहुने मौसमविद्ले बताएका छन् ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसोपछि पश्चिमी वायुको प्रणाली नेपाल भित्रदैछ । यही प्रणालीका कारण दिउँसोपछि मौसम बद्ली भई पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना छ । आज दिउँसोपछि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसमविद् मानन्धरले जानकारी दिनुभयो । यस्तै, वाग्मती र कोशी प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा पनि पानी पर्ने अनुमान छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका जिल्लामा तीब्र गतिमा हावाहुरी चल्ने अनुमान गरिएको छ । आज भन्दा भोली र पर्सी पश्चिमी वायुको प्रभाव धेरै पर्ने देखिएको मौसमविद् मानन्धरले बताए । उनका अनुसार भोली र पर्सी देशभर नै मौसम बद्ली हुने अनुमान छ । यसले गर्दा तापक्रम केही घट्ने अनुमान छ । केही दिनदेखि पानी नपर्दा र डढेलो लगायतका कारण तापक्रम ह्वात्तै बढ्दा जनजीवन प्रभावित भएको छ । खासगरी तराईका जिल्लामा गर्मी र तातो हावाको असर देखिन थालेको छ । हिजो भैरहवाको अधिकतम तापक्रम ४२ दशमलव ४ डिग्री सेल्सियस पुगेको थियो ।

यस्तै, जनकपुरको ४० दशमलव ८, नेपालगञ्जको ४० दशमलव ५ र सिमराको ४० दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो । दीपायल, धनगढी र विराटनगरको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस भन्दा धेरै छ । आज दिउँसोसम्म गर्मी भए पनि दिउँसो पछि भने मौसम बद्ली भई धेरै ठाउँमा शीत्तल हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे