भाग्यशाली एक मात्र नेपाली चेली सपना रोका मगर, जाे  बीबीसीको एक सय प्रभावशाली महिलाको सूचीमा परिन् 



भाग्यशाली एक मात्र नेपाली चेली सपना रोका मगर, जाे  बीबीसीको एक सय प्रभावशाली महिलाको सूचीमा परिन् 

काठमाडौं ९ मंसिर । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीको विश्वका एक सय प्रभावकारी तथा प्रेरणादायी महिलाको सूचीमा नेपालकी सपना रोका मगर परेकी छिन् । जीवन कठिन परिस्थिति र अशान्तमय बनेको अवस्थामा पनि अरुभन्दा फरक गरेर समाजमा परिवर्तन ल्याउने महिलालाई विश्वबाट खोज गरिन्छ र वार्षिक रुपमा त्यस्ता एक सय महिलाको सूची बीबीसीले सार्वजनिक गर्दै आएको छ ।

बीबीसीको उक्त सूचीमा फिनल्याण्डमा गठबन्धन सरकारको नेतृत्व गरेकी सान मरिन सबैभन्दा शीर्ष स्थानमा छिन् । त्यसैगरी, अक्सफोर्ड विश्वविद्यालयमा कोरोनाभाइरस विरुद्धको खोप अनुसन्धान गर्ने सरह गिलबर्ट समेत उक्त सूचीमा छिन् । बीबीसीको उक्त सूचीमा एकजना महिलाको स्थान रिक्त राखिएको छ । बीबीसीको अनलाइन संस्करणले लेखेको छ, “असाधारण वर्षमा अरुलाई सहयोग गर्दागर्दै अनगन्ती महिलाले त्याग गरेको हुनसक्छ, श्रद्धाञ्जली स्वरुप एकजनाको नाममा एक स्थान रिक्त राखिएको छ । ”

तीन महिनासम्म घरवारविहीन बन्न पुगेकी सपनाले काठमाडौंको यात्रा गरिन् । काठमाडौंको पशुपति आर्यघाटमा दाबी नगरिएको शव ब्यवस्थापन गर्ने एक संगठनमा उनी आबद्ध हुन पुगिन् । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको शव नेपाली सेनाले ब्यवस्थापन गर्दै आएको छ ।

सपना आबद्ध संस्थाले सनाखत हुन नसकेको बेवारिसे शवलाई अस्पताल पुर्याएर पोष्टमार्टम गराउँछ । ३५ दिनसम्म कुनै ब्यक्तिले उक्त शवमाथि दाबी नगरेको अवस्थामा सपना आबद्ध संस्थाले धार्मिक परम्परा अनुसार सदगद् गर्दै आएको छ । दागबत्ती दिने कामदेखि प्राबिधिक काममा सपना प्रत्यक्ष संलग्न हुँदै आएकी छिन् । सपनाले आफैं पनि सडकमा बेवारिसे जीवन ब्यतित गरिरहेकी छिन् ।

उनलाई सडकबाट उद्धार गरी सामाजिक सेवाका लागि प्रेरित गर्ने बिनयबाबु बस्नेतसँगै मिलेर उहाँले समाज सेवामा समर्पित हुन पुगिन् । सपना र विनयले हालसम्म कम्तीमा तीन सयभन्दा बढी शवको धार्मिक परम्परा अनुसार अन्त्येष्टि गर्दै अाएका छिन्। बीबीसी एक सय प्रभावशाली महिलाको सूचीमा परेपछि उनले आफ्नो सामाजिक सञ्जालमा सबैप्रति आभार ब्यक्त गरेकी छिन् ।

उक्त सूचीमा आबद्ध हुनुअघि सपना रोका मगरले भनेकी छिन्, “विश्वमा धेरै घरवारबिहीन भएर त्यागिएका ब्यक्ति छन् । सडक र गल्लीमा मृत्यु हुनेले समेत आफ्नो अन्तिम अधिकार पाउनुपर्छ, सामाजिक सेवाको रुपमा मात्र नभई मैले आफ्नो मन मस्तिष्कमा शान्तिको लागि उक्त काम गर्दै आएकी छु ।”

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे