कक्षा १२ को परीक्षा आजदेखि सुरू , दाङमा ९ हजार विद्यार्थी सहभागी हुँदै



कक्षा १२ को परीक्षा आजदेखि सुरू , दाङमा ९ हजार विद्यार्थी सहभागी हुँदै

दाङ ९ मंसिर । कक्षा १२ को परीक्षा आज देखि शुरु हुँदैछ । गएको बैशाख महिनामा गर्ने भनिएको कक्षा १२ को परिक्षा कोरोना भाइरसका कारण सरेको थियो। जसका कारण सात महिनापछि आज १२ कक्षाको परिक्षा हुन थालेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

परिक्षा विहान ८ बजेदेखि ९ः३० सम्म हुने भएको छ । परीक्षामा दाङबाट ९ हजार ८ सय ५७ जना विद्यार्थीहरु सहभागी हुन थालेको राष्ट्रिय परिक्षा बोर्ड दाङका प्रमुख रामलाल खड्काले बताउनुभयो। उहाँका अनुसार दाङमा नियमिततर्फ ७ हजार ७ सय ६५ जना र आंशिकतर्फबाट दुई हजार ९२ जना विद्यार्थीहरु परीक्षामा सहभागी हुन थालेका छन् । विद्यार्थीहरुका लागि होम सेन्टर तोकिएको छ । जस अन्तर्गत दाङमा ६६ वटा विद्यालयहरुबाट विद्यार्थीहरुले परिक्षा दिदैछन् । परीक्षामा देशभर ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागि हुने राष्टिय परीक्षा बोर्डले जनाएको छ ।

स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सामाजिक दूरी कायम राख्दै परीक्षा सञ्चालनको तयारी गरिएको राष्ट्रिय परिक्षा बोर्ड दाङका प्रमुख खड्काले बताउनुभयो । ‘कक्षा १२ को परिक्षाको लागि सवै तयारी पूरा भएको छ । विगतमा जस्तो विद्यार्थीहरुलाई टाढा वा फरक विद्यालयमा जानुपर्ने बाध्यता छैन’, प्रमुख खड्काले भन्नुभयो– ‘विद्यार्थीहरुले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिँदैछन् ।’ परीक्षा सञ्चालनका लागि सम्बन्धित विद्यार्थीहरुले तयारी पूरा गरिसकेको समेत खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक परीक्षा केन्द्रमा सावुनपानी, सेनिटाइजर र थर्मल गनसँगै आवश्यक हेल्थ डेस्क राख्न विद्यालयलाई निर्देशन दिएको छ ।

तर विद्यालयले हातधुनलाई सावुनपानी र सेनिटाइजरको व्यवस्था गरे पनि हेल्थ डेस्कको भने व्यवस्था गर्न सकेका छैनन् । परीक्षा सञ्चालनको तयारी र आवश्यक तयारीका बारेमा केन्द्राध्यक्षहरुलाई जुम मिटिङका माध्यमबाट बोर्डले तयारी गराएको समेत उहाँले बताउनुभयो। मंसिरको १६ गतेसम्म सञ्चालन हुने परीक्षाको सम्बन्धित विद्यालयमै कपी चेक गरेर मंसिर २२ गतेसम्म त्यसको रिपोट परीक्षा बोडमा पठाउनुपर्नेछ ।

उहाँका अनुसार यसपटक विद्यालयहरूले ४० प्रतिशत अंकको परीक्षा सञ्चालन गर्न लागेका छन् । सैद्धान्तिकतर्फको अंकभारलाई शतप्रतिशत मानी सोको ४० प्रतिशत कायम गरिएको छ । परीक्षाको अधितम समय साढे एक घण्टा तोकिएको खड्काले बताउनुभयो । ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ । २०७६ वा त्यसभन्दा अघिको कक्षा ११ को वार्षिक वा ग्रेड वृद्धि परीक्षामा सैद्धान्तिकतर्फ पाएको विषयगत प्राप्तांकलाई १०० प्रतिशत मानी सोको ४० प्रतिशत अंकभार कक्षा १२ को मूल्यांकनमा जोडिने छ ।

विद्यालयबाट गरिएको आन्तरिक मूल्याङ्कनको अङ्कभार सैद्धान्तिकतर्फको कूल पूर्णाङ्कलाई १०० प्रतिशत मानी सोको २० प्रतिशत हुनेछ । गृहकार्य, कक्षाकार्य, परियोजना कार्य, सामुदायिक कार्य, अतिरिक्त क्रियाकलाप, इकाई परीक्षा, सामूहिक कार्य, त्रैमासिक परीक्षा जस्ता मूल्याङ्कनका साधनहरूको प्रयोग गर्नुपर्नेछ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको विद्यार्थी मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधिमा स्थानीय तह र स्वास्थ्य संस्थाको सहयोगमा परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गर्न भनिएको छ । गोरक्ष राष्ट्रिय दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे