पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको समितिले सीसीटीभी फुटेजको अनुसन्धान गर्ने



पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको समितिले सीसीटीभी फुटेजको अनुसन्धान गर्ने

काठमाण्डाै ९ साउन । पूर्व अर्थमन्त्री जर्नादन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले सिंहदरबार गेटको सीसीटीभी फुटेज मगाएर अनुसन्धान गर्ने भएको छ । हिजो बसेको समितिको बैठकले सिंहदरबार छिर्ने दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाएको छ।

समितिले बजेट भाषणको अघिल्लो दिन जेठ १४ गते दिउँसो १२ बजेदेखि १५ गते दिउँसो १२ बजेसम्मको फुटेज हेरेर अनुसन्धान गर्न लागेको हो । यसअघि अर्थ मन्त्रालयका दुई जना सचिव, कर्मचारी र सुरक्षाकर्मीसँग बयान लिए पनि बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको पुष्टि हुन सकेको छैन । समितिको हिजोको बैठकले सिंहदरबार प्रवेश गर्ने गेटदेखि नै छानबिन गर्ने निर्णय गरेको हो ।

समितिमा रहेका एमालेका सांसदहरुले पूर्व अर्थमन्त्री शर्माको मोबाइलको कल डिटेल हेर्नुपर्ने बताए पनि सत्तारुढ दलका सदस्यहरुले भने व्यक्तिको गोपनीयताको हनन हुने भन्दै कल डिटेल हेर्न नहुने अडान राखेका छन् । यस विषयमा आजको बैठकमा पनि छलफल हुने भएको छ । यसअघि समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि बजेट निर्माणको दिनको फुटेज नपाएपछि रिकभरका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ ।

फरेन्सिक ल्याबको रिपोर्ट अझै आएको छैन । असार २२ मा गठन भएको समितिले २८ गतेदेखि छानबिन थालेको हो । पहिलो सात दिनको अवधिमा छानबिन नटुङ्गिएपछि गएको बिहीवार संसद्ले अर्को सात दिनको समय थप गरेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे