देशका धेरै ठाउँमा वर्षा, मनसुनी गतिविधि सुरु



देशका धेरै ठाउँमा वर्षा, मनसुनी गतिविधि सुरु

काठमाण्डाै १५ जेठ । मनसुन नजिकिएसँगै दिनहुँजसो पानी पर्न थालेको छ । यसपालि समयमानै मनसुन भित्रने अनुमान गरिएको छ । तर मिति भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । जुन १३ तारिखमा नेपालमा मनसुन भित्रने र अक्टोबर २ तारिखमा बाहिरिने भनिए पनि यो समय तलमाथि हुन सक्छ ।

जुन महिना सुरु हुन तीन दिन मात्र बाँकी छ । जुन महिना नजिकिएसँगै मनसुनी गतिविधि पनि सक्रिय हुन थालेको मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरकाअनुसार प्रि-मनसुन अन्त्यतिर पुगेको छ । यसपालि प्रि-मनसुनमा धेरै पानी परेको छ । मार्च, अप्रिल र मे तीन महिनालाई प्रि मनसुन मानिन्छ ।

मे र अप्रिल महिनामा खासै पानी नपरे पनि मे लाग्ने बित्तिकै पानी पर्ने क्रम बढेको थियो । मे १ तारिख अर्थात वैशाख १८ गतेदेखि लगातारजसो पानी परिरहेको छ । प्रि-मनसुनमा  मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षेत्रगत रुपमा पानी पर्ने हुन्छ भने मनसुन मेघगर्जन केही कम हुन्छ। तर, क्षेत्रगत रुपमा भन्दा पनि धेरै ठाउँमा लगातारजसो झरी पर्छ ।

मनसुनी गतिविधि सुरु हुँदै गरेकाले केही दिनयता बर्खा लागेजस्तो भएको छ । लगातारजसो पानी परिरहेको छ । अहिले पनि काठमाण्डौसहित वाग्मती, गण्डकी, सुदूरपश्चिम प्रदेश र प्रदेश-१ का केही पहाडी क्षेत्रमा पानी परिरहेको छ । दिउँसो पनि यी क्षेत्रमा पानी पर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे