LISTEN LIVE RADIO

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जालमा उम्मेदवार र दलले मात्र प्रचार गर्न पाउने



निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जालमा उम्मेदवार र दलले मात्र प्रचार गर्न पाउने

काठमाडौं २५ चैत । स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी आचार संहिता आजकै मिति (२५ चैत) देखि लागू भएको जनाएको हो ।

आचारसंहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने छैन । दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने आयोगले प्रष्ट पारेको छ ।

आचारसंहितामा शैक्षिक संस्थामा निर्वाचनसम्बन्धी भेला, प्रचार गर्न नहुने व्यवस्था गरिएको छ । 

यस्तै सार्वजनिक सम्पत्ति कुनै उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न नहुने, चुनावसँग सम्बन्धित सूचनालाई बिगार्न नहुने कुरा पनि आचारसंहितामा उल्लेख छ । राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित ज्याकेट, टी–सर्ट, टोपी, लकेट अगायत कुनै पनि पहिरन तथा स्केच बनाउन नपाइने भएको छ । १८ वर्षमुनिका बालबालिकालाई प्रचारमा सामेल गर्न पाइने छैन । 

नेपाल सरकार, प्रदेश सरकार र पालिका सरकारका पदाधिकारीले आचारसंहिता लागू भएपछि कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । आफू उम्मेदवार भएमा भने आफ्नो प्रचार गर्न पाउनेछन् । अब नयाँ योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण, अध्ययन पनि गर्न पाइने छैन ।

त्यस्तै पुरस्कार, सम्मान वितरण गर्न पाउने छैनन् भने निर्वाचन आयोगको स्वीकृति नलिइ कर्मचारी सरुवा, बढुवा र नियुक्ति गर्न पाइने छैन । शिक्षकले पनि कसैको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे