माओवादी महाधिवेशन : विधान मस्यौदा पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने



माओवादी महाधिवेशन : विधान मस्यौदा पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने

काठमाण्डाै १७ पुस । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन आजसम्म लम्बिएको छ । हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको छैन ।

विधान मस्यौदा पारित गर्नका लागि आज बिहान ११ बजेदेखि बन्द सत्र सुरु हुँदैछ । विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिनुभएपछि मात्रै पारित गर्ने कार्यसूची रहेको माओवादीले जनाएको छ । विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउँछ ।

माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ । अध्यक्षमा अरु नेताले दाबी नगरेकाले प्रचण्ड नै दोहोरिनु हुने पक्कापक्की  छ । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको सम्भावना देखिन्छ । महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको दाबी छ ।

दुई उपमहासचिव, सचिव र कोषाध्यक्षसमेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर चुनाव गर्ने तयारी गरिएको छ । विधान पारित भएपछि निर्वाचनको काम अगाडि बढ्ने निर्वाचन समितिले जानकारी दिएको छ। निर्वाचन समितिका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार विधान पारित भएपछि चुनावी प्रक्रिया सुरु हुन्छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे