बाढी पहिरोले बन्द भएका सडक दुई/तीन दिनभित्र खुलाउने तयारी



बाढी पहिरोले बन्द भएका सडक दुई/तीन दिनभित्र खुलाउने तयारी

काठमाण्डाै ४ कार्तिक । बाढी र पहिरोका कारण बन्द भएका धेरैजसो सडक अबको दुई/तीन दिनमा खुलिसक्ने सडक विभागले जनाएको छ ।

केही दिनयताको लगातारको वर्षाका कारण आएको बाढी र पहिरोका कारण बन्द भएका सडकमध्ये धेरैजसो सडक दुई/तीन दिन भित्र खुलिसक्ने सडक विभागका महानिर्देशक अर्जनु जङ्ग थापाले जानकारी दिए । उनका अनुसार सडक बन्द भएका ठाउँमा अहिले मेसिन र उपकरणहरु तयारी अवस्थामा राखिएको छ ।

कतिपय ठाउँमा खुलाउने तयारी भइरहेको छ भने कतिपय ठाउँमा सम्बन्धित डिभिजन कार्यालयमार्फत खुलाइसकिएको छ । गएको आइतवारपछि बन्द भएका १२ सडकमध्ये चार ठाउँको सडक खुलाइसकिएको विभागले जनाएको छ ।

कोसी राजमार्गअन्तर्गत धनुकटामा लेती खोलामा ४० मिटर सडक कटान भएकोमा एकतर्फी रुपमा खुलाइएको छ । यो सडक पूरै खुल्न भने समय लाग्ने थापाले बताए । राप्ती राजमार्गअन्तर्गत सल्यानमा अरिङ्गलेफेदीमा बन्द भएको सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सल्यानको कपुरकोट गाउँपालिकाले पहिरो सफा गरेपछि एकातर्फबाट गाडी चल्न थालेको हो ।

वीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमेरे फाँटमा पनि एकतर्फी सडक खुलेको छ । भालुवाङ–लिवाङ रोल्पा माडीचौर दारबोट सडक प्युठानको गनाहा चकचके खण्डमा बन्द भएकोमा अहिले खुलेको छ ।

यस वर्षको वर्षा सुरु भएपछि दुई सय ३८ ठाउँको सडक बन्द भएकोमा अहिले आठ ठाउँमा बन्द छ । एक सय ३४ ठाउँको सडक एकतर्फी र ९६ ठाउँको सडक पूर्ण रूपमा सञ्चालनमा आएका सडक विभागले जनाएको छ ।  वर्षाका कारण देशभरका आठ ठाउँको सडक अहिले पनि बन्द नै छन् ।

पुष्पलाल राजमार्गअन्तर्गत ओखलढुङ्गाको हिलेपानी–जयरामघाट हलेसीखण्ड र सिन्धुलीको खुर्कोट–घुर्मी खण्डको अक्करे भिर तथा सोखुखोलामा सडक बन्द छ । डुम्रे–बेसीसहर–चामे सडक मनाङको विभिन्न खण्डमा बन्द छ । बझाङमा खोड्पे–चैनपुर सडक जालिबगर र नारुघाटमा र धनगढी–सहजपुर–बुडर सडक र सतबाँझ–थाकतोली–दार्चुला–तिङ्कर सडक पनि बन्द छ ।

कालीकोटमा सुर्खेत तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक विभिन्न ठाउँमा बन्द रहेको सडक विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे