LISTEN LIVE RADIO

कतिपय नागरिक अझै तुइनकै सहारामा नदी तर्न बाध्य



कतिपय नागरिक अझै तुइनकै सहारामा नदी तर्न बाध्य

काठमाण्डाै २१ साउन । ६ वर्षमा १ सय ३० वटा तुइन विस्थापित भएको सरकारले जनाएको छ । सरकारले २०७२ सालमा तुइन विस्थापित गर्ने नीति लिएपछि गरिएको तथ्याङ्क सङ्कलनमा देशभरका १ सय ४३ ठाउँमा तुइन रहेकोमा अहिलेसम्म १ सय ३० वटा विस्थापित भएको स्थानीय पूर्वाधार विभाग अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजन कार्यालयको तथ्याङ्क छ ।

पहिचान भएका सबै ठाउँमा एकैपटक निर्माणको काम थालनी भएको थियो । तर महाकालीमा ४ र कर्णाली तथा कालीगण्डकीमा ८ गरी १२ वटा तुइनको काम बाँकी छ । सुदूरपश्चिमको महाकालीमा भारतसँग सीमा भएर बग्ने महाकाली नदीमा पुल बनाउन भारतसँग सहकार्य गर्नुपर्ने बाध्यता, लठ्ठा पनि भारतबाटै किन्नुपर्ने बाध्यता, कोरोनाले उत्पादन नभएको र कोरोना सङ्क्रमण जोखिमपछि भारततर्फ कामदारलाई काम गर्न नदिएको कारण ढिलासुस्ती भएको स्थानीय पूर्वाधार विभागका उपमहानिर्देशक एवं सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख अशोककुमार साहले बताए ।

उहाँका अनुसार पञ्चेश्वरघाटमा भने भारतले सहमति नदिएपछि निर्माणको काम नै थालनी हुन सकेन । पञ्चेश्वरमा अब पुल नबन्ने उनले जानकारी दिए । ‘सुरुमा मौखिक सहमतिका आधारमा सबैतिर काम थालनी भयो, उनले भने ‘निर्माणका लागि टेन्डर पनि भयो तर पछि भारतले रोक्यो । भारतसँग सीमा जोडिएका ठाउँमा दुईतर्फी ठाउँ उपलब्ध गराउन नसक्दा टेन्डर रद्ध गर्नुपर्यो ।’

पहिलो ठेक्का रद्ध गरेर फेरि प्रकृयामा जाँदा ढिलासुस्ती भएको योजना प्रमुख साहको भनाइ छ । अहिले भारत सरकारले लिखित सहमति दिएपछि काम भइरहेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ साल असोजमा कार्यभार सम्हाले लगत्तै दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गर्नुभएको थियो । त्यसपछि आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममा सरकारको प्रतिबद्धता पूरा भएको घोषणा गरिएको थियो । तर कतिपय नागरिक तुइनकै सहारामा जोखिम मोलेर नदी वारपार गर्न बाध्य छन् ।

महाकालीका ४ वटा पुल आउँदो मंसिरसम्म काम भइसक्ने उनको दाबी छ । महाकालीका चारमध्ये दुईवटा बडुगाउँ र बाँकुको काम ९०/९० प्रतिशत सकिएको छ भने माल र बरती झोलुङ्गे पुलको काम ३०/३० प्रतिशत भएको योजना प्रमुख साहले बताए । ‘अहिले बर्खामा महाकालीमा पानी सतह बढी भएकाले काम गर्न सकिँदैन, उनले भने । ‘भदौपछि काम पुनः काम थालेर मंसिरसम्म सक्छौँ, अब चाहिँ ढिला हुँदैन ।’

तुइन विस्थापन गर्ने गरी पुल बनाउन २०७६ सालमा ठेक्का लागेको दार्चुलाको मालमा अहिलेसम्म पुल बनेको छैन । तुइनबाट महाकाली पार गर्नेक्रममा खसेर शुक्रवार दार्चुलाका जयसिंह धामी बेपत्ता हुनु भएकाे थियाे । व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा बेपत्ता हुनुभएका धामी अझै फेला पर्नु भएकाे छैन । महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय बासिन्दाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे