LISTEN LIVE RADIO

जसपाले भदाै १ देखि मङ्सिर २९ सम्म सङ्गठन सुदृढीकरण तथा जागरण अभियान चलाउने



जसपाले भदाै १ देखि मङ्सिर २९ सम्म सङ्गठन सुदृढीकरण तथा जागरण अभियान चलाउने

काठमाण्डाै १४ साउन । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) काे बैठकले सङ्गठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको छ ।  बुधवार पार्टी कार्यालय तुलसीलाल अमात्य स्मृति भवनमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सङ्गठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको हो ।

बैठकपछि पार्टी प्रवक्ता डम्बर खतिवडाले यो अभियान भदाै १ गतेदेखि मङ्सिर २९ मसान्तसम्म चल्ने बताए । उनले यो अवधिमा पार्टीको समायोजन, प्रशिक्षण, सङ्गठन र जनजागरणसम्बन्धी काम गर्ने र पार्टीलाई दुरुस्त बनाउने अभियानमा लाग्ने बताए ।

प्रवक्ता खतिवडाले भने, ‘सङ्गठन सुदृढीकरण तथा जागरण अभियान २०७८ र यसको कार्ययोजना पारित गरिएको छ, यो अभियान भदाै १ गतेदेखि मङ्सिर मसान्तसम्म चार महिना चल्नेछ र यो अवधिमा जनता समाजवादी पार्टीको समायोजन, प्रशिक्षण, सङ्गठन र जनजागरणसम्बन्धी मुख्य चार वटा काम हामी यो अवधिमा गर्नेछौँ र यो बीचमा पार्टीको टुटेको कडी जोड्ने र फेरि पार्टीलाई दुरुस्त बनाउने काम हुनेछ ।’

बैठकले पार्टीभित्र आउन सक्ने समस्या, अनुशाससम्बन्धी घटनाको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।  समितिको संयोजकमा नवराज सुवेदी र सदस्यहरूमा प्रकाश अधिकारी, गोविन्द चौधरी, दुर्गा सोब र सुशीला श्रेष्ठलाई चयन गरिएको समेत उनले बताए ।

बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा कपिलवस्तु जिल्लाका पार्टी केन्द्रीय समितिका सदस्य नरसिंह चौधरीलाई नियुक्ति गरिएको प्रवक्ता खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे