प्रतिनिधिसभा विघटनको कदमको राजनीतिक र कानुनी प्रतिवाद गर्ने माओवादी केन्द्रको निर्णय



प्रतिनिधिसभा विघटनको कदमको राजनीतिक र कानुनी प्रतिवाद गर्ने माओवादी केन्द्रको निर्णय

काठमाण्डौ ८ जेठ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटनको कदमको राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटीको बैठकले संसद विघटनलाई असंवैधानिक, निरंकुश र प्रतिगामी कदम भएको ठहर गर्दै यसको संवैधानिक र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रले राष्ट्रपति र प्रधानमन्त्रीको कदमकोे प्रतिवाद गर्न र राष्ट्रिय स्वाधिनता रक्षाको पक्षमा उभिन अपीलसमेत गरेको छ । यस्तै माओवादी केन्द्रले महामारीसँग जुधिरहेका नागरिकलाई सहयोग गर्न वडा तहसम्म कोभिड–१९ सेवा इकाई गठन गर्ने निर्णयसमेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति निकालेर प्रधानमन्त्री र राष्ट्रपति मिलेर पुस ५ गतेको प्रतिगामी कदमलाई फेरि निरन्तरता दिएको आरोप लगाए ।

प्रतिनिधिसभा विघटनको कदमको विरुद्धमा संघर्षमा उभिन लोकतन्त्र पक्षधर सबै राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीलाई अपील गर्दै उनले कोरोना संक्रमणको रोकथाम, नियन्त्रण, एवम् उपचार र असरलाई सम्बोधन गर्न गम्भीर हुनुको सट्टा सरकार सत्ता स्वार्थमा केन्द्रित भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे