कोरोना रोक्न आग्रह गर्दै जाजरकाेटमा देवीलाई बलि (बोका) चढाइयाे



कोरोना रोक्न आग्रह गर्दै जाजरकाेटमा देवीलाई बलि (बोका) चढाइयाे

जाजरकाेट २ जेठ । अहिले जताततै काेराेनाकाे त्रास छ । यसबाट बच्न मानिसहरुले अनेक उपाय अपनाइरहेका छन् । काेही आयुर्वेदिक औषधिकाे प्रयाेगलाई महत्व दिइरहेका छन् भने काेही याेग अभ्यासलाई । यी त स्वास्थ्यसँग सम्बन्धित उपाय हुन् । तर काेराेना नियन्त्रण हुन्छ भन्दै देवी/देवतालाई बलि दिएकाे सुन्दा तपाईंलाई अचम्म लाग्ला । तर अब अचम्म मान्नुपर्ने केही छैन ।

कोराना नियन्त्रण हुने आशामा जाजरकाेटमा देवीलाई बलि (बोका) चढाइएको छ । शनिबार दिउँसो नलगाड नगरपालिका–८ हल्चौरमा गाउँलेहरु जम्मा भएर कालिका माई देवीलाई बलि दिइएको स्थानीयवासी हरिबहादुर खत्रीले बताए  ।  नलगाडमा एक  जनप्रतिनिधको मृत्यु भएसँगै छिमेकी रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा व्यापक मात्रामा कोरोनाको सङ्क्रमण बढेपछि त्यसलाई रोक्न बलि दिइएको खत्रीले जानकारी दिए । उनले भने, “यसको औषधि बनेको छैन रे, हाम्रो गाउँमा समेत एक जनालाई कोरोना देखिसक्यो । बाँच्ने उपाय केही नभएपछि देवीको शरणमा पुगेको छौँ ।”

यही जेठ १२  गते मष्टो देवतालाई बलि दिने गरी शनिबार बोकाको भाकल गरिएको छ । शनिबारदेखि रातभर खर्कराति गर्ने (गाउँभरिका मानिस जम्मा भएर देवताको मन्दिरमा जाग्राम बस्ने) योजनाका साथ गाउँलेहरु मन्दिरमा जम्मा भएको खत्रीले बताए  मष्टा देवता र कालिका माईबाहेक अरुले यो रोग नियन्त्रण गर्न नसक्ने धामी हर्कबहादुर खत्रीले बताए ।

पटकपटक यस्ता खालका महाविपत्ति आउँदा देवताको शरणमा जाने गरेको उनले बताए । हल्चौर जुम्ली सिञ्जाका न्यौपाने खत्रीहरुको बाहुल्य रहेको गाउँ हो । यहाँ जुम्लाकै मष्टो देवता मनाउने गरिन्छ । जाजरकोटमा झाडापखाला रोग नियन्त्रणका लागि पनि यहाँका गाउँलेहरु देवताको शरणमा गएका थिए । गाउँलेहरुले पैसा जम्मा गरी उठाएको रकमबाट बोका खरिद गरी देवताका नाममा बलि दिने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे