LISTEN LIVE RADIO

नेपाल–खनाल समूहबाट धाेका भयाे भनेर अहिले नै टिप्पणी गर्न चाहन्नँ : प्रचण्ड



नेपाल–खनाल समूहबाट धाेका भयाे भनेर अहिले नै टिप्पणी गर्न चाहन्नँ : प्रचण्ड

काठमाण्डाै ३१ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेकाे नेपाल–खनाल समूहबाट धाेका भयाे भनेर अहिले नै टिप्पणी गर्न नचाहेकाे बताएका छन् । सरकार गठनमा नेकपा एमालेको नेपाल–खनाल समूहबाट धोका भएको हो भन्ने जिज्ञासामा उहाँले धोका भयो भनेर अहिले नै टिप्पणी गर्न नचाहेको प्रतिक्रिया दिएका हुन् ।

यस्तै उनले संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको सङ्घर्ष चलिरहने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारविरुद्ध वैकल्पिक सरकार गठनको प्रयासमा लाग्नुभएका माओवादी केन्द्रका अध्यक्ष दाहालले ओली पुनः प्रधानमन्त्री बनेपछि प्रतिक्रिया दिँदै संविधान र लोकतन्त्रको पक्षमा निरन्तर खबरदारी गर्ने बताएका हुन् । उनले प्रतिपक्षीको हैसियतले सरकारबाट भएका गलत कामको आलोचना गर्दै नागरिकलाई राहत दिने र संविधान र देश बचाउको पक्षमा निरन्तर सङ्घर्ष गर्ने उल्लेख गरे ।

उनले भने, ‘चुनौतीपूर्ण पनि छ, सम्भावना पनि छ । हामी आफ्नो ढङ्गले अघि बढ्छौँ । संविधान र लोकतन्त्रको रक्षाका निम्ति । संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको हाम्रो सङ्घर्ष चलिरहन्छ ।प्रतिपक्षीको हैसियतले गलत कामको आलोचना हुन्छ । नागरिकलाई राहत दिने र संविधान र देश बचाउको पक्षमा हामी निरन्तर सङ्घर्षमा हुन्छाैँ । अहिले म धोका भन्ने शब्द त प्रयोग गर्न चाहन्नँ । किनभने अहिले भर्खर पनि हामी कुरा गर्दैछौँ । उहाँहरू भित्र केही समस्या पक्कै पनि भए होलान् । उहाँहरू आफु पनि संविधान र लोकतन्त्रको पक्षमा सङ्घर्षरत नै हुनु भएकाले अहिले नै धोका दिनुभयो भन्ने शब्द बढी हुन्छ भन्ने लागेको छ । म आशा गर्छु उहाँहरू सत्यको पक्षमा, लोकतन्त्रको पक्षमा, संविधानको पक्षमा सङ्घर्ष अगाडि बढाउनुहुन्छ र हाम्रो एक ठाउँमा फेरि पनि भेट हुन्छ भन्ने म ठान्छु ।’

नेता दाहालले असंवैधानिक ढङ्गले हुने चुनावकाे विरोध गर्ने बताए । उनले भने, संवैधानिक ढङ्गले हुने कुनै पनि चुनावकाे निम्ति पार्टी जहिले पनि तयार हुन्छ । संविधान विरोधी भयो भने मात्रै हाम्रो विरोध हुने हो । आलोचना हुने हो ।  संविधानअनुसार हुने चुनावमा हाम्रो सहभागिता हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे