LISTEN LIVE RADIO

प्रधानमन्त्रीले विश्वासको मत पाउने र नयाँ गठबन्धन सरकार बन्ने दुवै सम्भावना कम



प्रधानमन्त्रीले विश्वासको मत पाउने र नयाँ गठबन्धन सरकार बन्ने दुवै सम्भावना कम

काठमाण्डौ २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने पुष्टयाइँका लागि आज सोमबार प्रतिनिधिसभाको बैठक बस्दैछ । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेभित्रको आन्तरिक मतान्तर तथा अरु दलभित्र पनि विवाद भएका बेला संसद बैठक बस्न लागेको हो ।

बैठक दिउँसो १ बजे बस्नेछ । कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदलाई पनि मतदान प्रक्रियामा सहभागी गराउने निर्णय गरेको छ । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सम्बोधन गर्नुहुनेछ । पूर्वप्रधानमन्त्री र पूर्वसभामुखलाई भने बोल्नका लागि समयसीमा नतोक्ने प्रचलन रहेको छ । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र पूर्वसभामुखबाहेक अरुका हकमा भने छलफलका लागि करीब एक घण्टाको समय निर्धारण गरिएको छ । मतदानपछि अधिवेशन आज नै अन्त्य हुनेछ ।

नेपालको संविधान जारी भएपछि विश्वासको मतको प्रयोजनका लागि पहिलो पटक बस्न लागेको यो अधिवेशन सकिएलगत्तै सरकारले बर्खे अधिवेशन बोलाउनेछ । अधिवेशनको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनु हुनेछ । त्यसलगत्तै सभामुखका प्रस्तावमा बैठक सञ्चालन गर्ने सांसद सम्मिलित अध्यक्षमण्डल चयन गरिनेछ ।

बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । प्रस्ताव टेबल गरेसँगै प्रधानमन्त्रीले आफ्नो मन्तव्यसहित प्रस्तावका पक्षमा मतदान गर्न सभामा आग्रह गर्नुहुनेछ । त्यसपछि प्रधानमन्त्रीको प्रस्तावमाथि केन्द्रित रही दलीय प्रतिनिधित्वका आधारमा सदस्यले आआफ्ना धारणा राख्नुहुनेछ । सांसदको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्न्त्री ओलीले जवाफ दिनुहुनेछ । प्रधानमन्त्रीको जवाफपछि विश्वासको मतका लागि मत विभाजनसम्बन्धी प्रस्ताव अघि बढ्नेछ । मत विभाजनका क्रममा हुन्छ, हुन्न र दिन्न भन्ने तीन मत जाहेर गर्ने व्यवस्था रहनेछ ।

विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रुपमा कोरोना संक्रमणबाट प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था हुनेछ । संवैधानिक व्यवस्थानुसार २७५ सदस्यीय प्रतिनिधिसभामा अहिले २७१ सदस्य कायम छ । दल त्यागसम्बन्धी व्यवस्थानुसार नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेपछि मन्त्री टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीको ठाउँ रिक्त रहेको छ । सांसद विजयकुमार गच्छदार, मोहम्मद अफताब आलम, रेशम चौधरी र हरिनारायण चौधरी निलम्बनमा रहेका छन् । उनीहरुलाई मत जाहेर गर्ने अधिकार छैन । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात १३६ मत प्राप्त गर्न आवश्यक छ । मत बराबर भएको अवस्थामा सभामुखले निर्णय दिन पाउनु हुनेछ, अन्यथा आजको अधिवेशनमा २६६ सांसदले मत जाहेर गर्नुहुनेछ ।

प्रधानमन्त्रीले संसदबाट विश्वासको मत पाउने र नयाँ गठबन्धनको सरकार बन्ने दुवै सम्भावना अनिश्चित छ । आफ्नै दलभित्र विश्वासको वातावरण बनाउन नसकेका ओलीलाई जनता समाजवादी पार्टीले पनि मत नदिने स्पष्ट भैसकेको छ । कांग्रेस र माओवादीले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । यस्तै जनता समाजवादी पार्टी (जसपा) ले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने तर विपक्षमा मत दिन स्वविवेक प्रयोग गर्न दिने निर्णय गरेको छ । ३२ सांसद रहेको जसपाको भट्टराई–यादव समूहले यसअघिदेखि नै विश्वासको मतको विपक्षीमा मतदान गर्ने स्पष्ट गरिसकेको छ ।

एमालेका सबै एकसय २१ जना सांसदले मत दिए पनि प्रधानमन्त्री ओलीले विश्वासको मत लिन सक्नुहुन्न । त्यसमाथि एमालेका कति सांसदले ओलीलाई मत दिन्छन् भन्ने स्पष्ट छैन । एमालेको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले ओलीले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको अवस्थामा मात्र विश्वासको मत दिने निर्णय गरेको छ । खनाल–नेपाल समूहले ओलीका तर्फबाट त्यस्तो प्रतिबद्धता आज बिहान ९ बजेसम्म नआए सामूहिक राजीनामा गर्ने जनाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदले मत दिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे