LISTEN LIVE RADIO

प्रधानमन्त्री ओलीले आइतबारका लागि आह्वान गरेको संवैधानिक परिषद्को बैठकमा कांग्रेस सहभागि नहुने



प्रधानमन्त्री ओलीले आइतबारका लागि आह्वान गरेको संवैधानिक परिषद्को बैठकमा कांग्रेस सहभागि नहुने

काठमाडौं २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि आह्वान गरेको संवैधानिक परिषद्को बैठकमा नेपाली कांग्रेसले भाग नलिने जनाएको छ । सभापति शेरबहादुर देउवाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा भाग नलिने बताएका हुन् ।

सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टीगत मनसायबाट प्रेरित भएको भन्दै उनले बैठकमा भाग नलिने जनाएका छन् । ‘नेपाली कांग्रेस संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ,’ विज्ञप्तिमा जनाइएको छ ।

यसअघि नै सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले आइतबारको बैठकमा सहभागी नहुने जनाइसकेको छ । त्यसैले प्रधानमन्त्री ओलीले बहुमतको आधारमा सिफारिसको निर्णय गर्न सक्ने व्यवस्थासहितको अध्यादेश ल्याएपछि विरोध हुँदै आएको छ ।

वर्तमान सरकारले संवैधानिक परिषद्को मर्यादा र गरिमालाई समाप्त गरी यसको कार्य क्षेत्रलाई संकुचित गर्ने गरी पटक–पटक संघीय संसदलाई छलेर संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेर अनुचित कार्य गरेको कांग्रेसको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे