LISTEN LIVE RADIO

एमालेमा फुट रोक्न दोस्रो तहका नेता सक्रिय, अध्यक्ष ओली र नेता नेपालबीच निर्णायक छलफलको तयारी



एमालेमा फुट रोक्न दोस्रो तहका नेता सक्रिय, अध्यक्ष ओली र नेता नेपालबीच निर्णायक छलफलको तयारी

काठमाण्डाै २४ बैशाख । नेकपा एमालेका दुवै समूहका नेताहरु एकता जोगाउन सक्रिय बनेका छन् । शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ‘निर्णायक’ छलफलको तयारी छ । सरकारले विश्वासको मत लिन आउँदो २७ गते संसद् अधिवेशन बोलाएसँगै एमाले विभाजन नजिक पुगेको छ । तर एकता जोगाउन दुवै समूहका दोस्रो तहका नेताहरू सक्रिय बनेका हुन् । यसअघि हिजो र अस्ति आपसी छलफल गरेका नेताहरुले नेतृत्वलाई लचक बन्दै सहमति जुटाउन दबाब दिएका छन् ।

हिजो बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपाल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलमाथि ६ महिनाका लागि गरिएको कारबाही फिर्ता लिने विषयमा छलफल भएको थियो । त्यसपछि दुवैतर्फका नेताले विवाद समाधानका उपायबारे दिउँसो दुई चरणमा छलफल गरेका थिए ।

आज राष्ट्रिय सभाको एक सिटका लागि उम्मेदवारी दिनुपर्ने भएकाले साझा उम्मेदवार बनाउने विषयमा हिजो छलफल भएको र आज पनि छलफलको तयारी भइरहेको नेताहरुले बताएका छन् । आउँदो जेठ ६ मा तोकिएको राष्ट्रिय सभाको उम्मेदवारमा नेपाल–खनाल समूहले खिमलाल देवकोटालाई उठाउने गरी राखेको प्रस्तावलाई कांग्रेस, माओवादी केन्द्र र जसपाले स्वीकार गरेपछि एमालेको संस्थापन पक्ष दबाबमा छ ।

अध्यक्ष ओली पक्षले गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाउने बताउँदै आएको छ । एमाले फुटको नजिक पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि ओली र नेपालसँग बेग्लाबेग्लै छलफल समेत गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे