LISTEN LIVE RADIO

काेराेना विरुद्धकाे लडाइँमा केन्द्रित हुन पार्टी पङ्क्तिलाई एमालेकाे निर्देशन



काेराेना विरुद्धकाे लडाइँमा केन्द्रित हुन पार्टी पङ्क्तिलाई एमालेकाे निर्देशन

काठमाण्डाै १२ बैशाख । नेकपा एमालेले सिङ्गो पार्टी पङ्क्तिलाई कोभिड–१९ (काेराेना भाइरस) विरुद्धको लडाइँमा केन्द्रित हुन निर्देशन दिएको छ । आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले कोभिड–१९ को सङ्क्रमण बढिरहेको भन्दै यसविरुद्धको लडाइँमा सिङ्गो पार्टी पङ्क्तिलाई परिचालित हुन निर्देशन दिएको हो ।

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै कमिटीलाई कोभिड–१९ विरुद्धको लडाइँमा क्वरेण्टीन निर्माण गर्न, गाउँ–गाउँमा जागरण अभियान सञ्चालन गर्न, बिरामीलाई अस्पतालसम्म पुर्‍याउन सहयोग गर्न पालिका र जिल्लामा रहेका कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग मिलेर अभियान चलाउन निर्देशन दिनुभएको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीले विशेष निर्देशन दिनुभएको छ । अब छिटो–छिटो आयोजक कमिटीको बैठक बस्न गाह्रो पर्ने भएको हुनाले प्रत्येक केन्द्रीय सदस्य र मातहतका कमिटीले प्रदेश कमिटी, जिल्ला कमिटी र अन्य मातहत कमिटी, जनसङ्गठन, जनप्रतिनिधि सबैले जिल्ला जिल्लामा डेस्कहरू राख्ने, विदेशबाट आएका या सङ्क्रमणका सम्भाव्य जोखिममा रहेका साथीहरूलाई क्वरेण्टीनमा राख्ने, क्वरेण्टीन बनाउनको निम्ति पालिकासँग समन्वय गर्ने, गाउँ–गाउँमा जागरण अभियान सञ्चालन गर्ने, कोही बिरामी हुनुभयो भने उहाँहरुलाई नजिकको अस्पतालसम्म पुर्‍याउनका लागि मद्दत गर्ने र यसमा पालिका र जिल्लाको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरसँग मिलेर गर्ने अभियान चलाउन सिङ्गो पङ्क्तिलाई परिचालन हुनका लागि विशेष निर्देशन दिने प्रयोजनको लागि आजको बैठक आयोजना गरिएको थियो र प्रधानमन्त्रीले त्यहीअनुसार नै निर्देशन दिनुभएको छ । साथीहरूलाई त्यहीअनुसार नै खट्नका लागि भनिएको छ । मूलतः सिङ्गो पार्टी एकढिक्का भएर यो कोभिडविरुद्धको लडाइँमा लाग्न केन्द्रित हुने निर्णय गरेको छ ।’

प्रवक्ता ज्ञवालीले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कोसिस भइरहेको र कर्णालीको जस्तै ‘फ्लोर क्रस’ गराउने प्रयास भइरहेको भन्दै त्यसबारेमा आवश्यक जानकारी लिइरहेको बताए । नेताहरूलाई सोधिएको स्पष्टीकरणको सम्बन्धमा उपयुक्त समयमा निर्णय गरिने उनकाे भनाइ छ । उनले भने, ‘त्यसको बारेमा पनि अलिकति जानकारी गराउनुभयो प्रधानमन्त्रीले । अस्ति नै बैठकले त्यसबारेमा छलफल गरेर प्रस्ताव तयार गर्नका लागि स्थायी कमिटीलाई भनेको हुनाले आवश्यक निर्णय चाहिँ आउँदा दिनमा हुँदै जानेछन् । यसबारे हामीले समीक्षा गर्‍याैँ । अहिले अविश्वासको प्रस्ताव ल्याउने प्रयासमा भइरहेको छ । प्रतिपक्षले ल्याउने कुरा त धेरै ठूलो कुरा भएन । तर कर्णालीको जस्तै विभिन्न ठाउँमा ‘फ्लोर क्रस’ गराउन पनि प्रयास हुँदै गरेका पनि छन्, तीबारेमा हामीले आवश्यक जानकारी लिइरहेका छौँ, आवश्यक निर्णय उपयुक्त समयमा गरिनेछ ।’

प्रवक्ता ज्ञवालीले तत्काल देशभर लकडाउन नहुने पनि बताउनुभयो । सरकारको आग्रह स्वास्थ्य मापदण्ड पालना गराउनु नै रहेको बताउनुभयो । अर्थतन्त्र र जनजीविकामा प्रभाव नपरोस् भन्ने उद्देश्यले देशव्यापी लकडाउन नगर्ने तर हटस्पटहरूमा लकडाउन हुन सक्ने ज्ञवालीले जानकारी दिए ।

अहिलको कोभिड–१९ सङ्क्रमणको अवस्थालाई धान्न सकिने भए पनि यही ढङ्गले बढ्दै गएमा गाह्रो पर्न सक्ने पनि उहाँले बताए । शनिवार सीसीएमसीकाे बैठकबाट अक्सिजन प्लान्टहरूको क्षमता विस्तार गर्ने, नयाँ सिलिन्डर मगाउने, रेम्डेसिभिर लगायतका अन्य मेडिकल सामग्रीलाई आयात गर्ने तर खोपलाई विस्तार गर्ने विषयमा छलफल गरेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे