LISTEN LIVE RADIO

सर्वदलीय बैठक सकियो, एमसीसी पास गर्न नदिएको भन्दै सभामुखप्रति प्रधानमन्त्रीको आक्रोश



सर्वदलीय बैठक सकियो, एमसीसी पास गर्न नदिएको भन्दै सभामुखप्रति प्रधानमन्त्रीको आक्रोश

काठमाण्डौ ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकमा कोरोना सङ्क्रमण रोकथाम, संसदमा अड्किएको एमसीसी परियोजना, रिक्त भएको ठाउँका उपनिर्वाचन, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल भएको छ ।

बैठकपछि परराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीपकुमार ज्ञवालीले समस्या बढ्दै गएको कोरोना रोकथाम, एमसीसी, उपचुनाव लगायतका विषयमा छलफल भएको बताए । कोरोना महामारी बढ्दै गएकोले थप सजगता अपनाउन र आवश्यक ठाउँमा विद्यालय बन्द गर्नेदेखि थप सजगताका क्रियाकलाप गर्न सबै दलले सुझाव दिएका उनले बताए ।

यस्तै रिक्त पदमा उपचुनाव गर्ने विषयमा छलफल भएको र नेपाली काँग्रेसले आफ्नो महाधिवेशनको कार्यतालिका नजुध्ने गरी चुनाव गर्न आग्रह गरेको नेता ज्ञवालीले बताए । यस्तै संसद्मा अड्किएको एमसीसी परियोजनाका बारेमा गम्भीर छलफल भएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए।

नेपाली काँग्रेस लगायतका दलहरुले एमसीसी पास वा फेल गर्ने अधिकार संसदमा रहेको भन्दै त्यहाँ तत्कालै छलफल गर्नुपर्ने धारणा राखेका उनले बताए । बैठकमा एमसीसीलाई सभामुखले संसदमा अड्काउने काम गरेको भन्दै प्रधानमन्त्री केपी ओलीले असन्तुष्टि समेत व्यक्त गरे ।

बैठकमा प्रधानमन्त्री ओलीले सरकार राष्ट्रियताको सवालमा स्पष्ट रहेको भन्दै त्यसबारे ढुक्क रहन आग्रह गर्नुभएको पनि नेता ज्ञवालीले बताए ।  बैठकमा नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जनता सामाजवादी पार्टीको बाबुराम–उपेन्द्र यादव पक्षका नेताहरु सहभागी भएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे