दाङमा भएको २ छुट्टाछुट्टै घटनामा परी २ जनाको मृत्यु



दाङमा भएको २ छुट्टाछुट्टै घटनामा परी २ जनाको मृत्यु

दाङ ३ चैत्र । दाङमा भएको २ छुट्टाछुट्टै घटनामा परी २ जनाको मृत्यु भएको छ । तुलसीपुरमा पानीमा डुबेर १७ बर्षीय किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ बनहरी निवासी यम बहादुर बोहराकी १७ बर्षीय छोरी सृजना बोहरा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले बताए ।

उनका अनुसार मंगलबार बिहान घरबाट नुहाउन हिडेकी बोहरा घर नजिकैको घट्टे कुलामा चिप्लिएर लडेपछि घाईते भएकी थिई । बिहान साढे ११ बजे तिर स्थानीयहरुले बोहरालाई कुलोमा लडेको देखेपछि परिवारलाई खवर गरेका थिए । तत्काल उनको उपचारकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । मृतक बोहराको टाउँकोमा चोट लागेको र बाँकी बिवरण पोष्टमाटम रिर्पोट आएपछि आउने प्रहरीले बताएको छ ।

यता दाङमा अटोको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ चोरगाउँमा रा १ ह २८२४ नम्बरको अटोले ठक्कर दिदा ३ बर्षीया बालिका आकांक्षा चौधरीको मृत्यु भएको हो । घर अगाडीको बाटोमा खेलिरहेकी बालिकालाई अटोले ठक्कर दिएको प्रहरीले जनाएको छ । गम्भीर घाईते अबस्थामा बालिकालाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याईएको र उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

अटो चालक घोराही ६ बचाहका २७ बर्षिय कमल पुनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । यसैविच जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले अटो चालकहरुलाई ट्राफिक नियमको अनिवार्य पालना गर्न निर्देशन दिएको छ । चालक अनुमती पत्र बिनै अटो चलाउने, सीट क्षमता भन्दा धेरै यात्रु बोक्ने, तिब्र गतिमा कुदाउने, तोकिएको भन्दा बढी भाडा लिने जस्ता गुनासो बढेपछि प्रहरीले यसलाई नियन्त्रण गर्न थालेको जनाएको छ । ट्राफिक नियमको पालना नहुदा दुर्घटना समेत बढ्न थालेको भन्दै चालकहरुलाई अनिवार्य नियमको पालना गर्न निर्देशन दिईएको ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे