विभिन्न नीति नियम पारित गर्दै गढवा गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न



विभिन्न नीति नियम पारित गर्दै गढवा गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न

गढवा ३ चैत्र । विभिन्न कानून तथा नीति नियमहरु पारित गर्दै आगामी आर्थिक बर्ष देखि गाउँपालिकाभरका निजी स्रोतका शिक्षक ब्यवस्थापन गर्ने योजनाका साथ देउखुरीको गढवा गाउँपालिकाको आठौं गाउँसभा मंगलबार समापन भएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा गाउँसभा सम्पन्न भएको हो ।

सभाले गढवा ८ कोइलाबास निवासी वडा सदस्य बिमला सुनारको गत मंसीर २० मा भएको अकल्पनीय र असामयिक निधन प्रति शोक प्रस्ताव पारित गरिएको गाउँपालिकाले जनाएको छ । सभाले शिक्षण स्वयंसेवक परिचालन कार्यबिधि–२०७७ माथी व्यापक छलफल गरेको छ । गाउँपालिकाभरमा रहेका सरकारी विद्यालयहरुमा कुल ४४ जना शिक्षक अपुग रहेको र निजी स्रोतका शिक्षक व्यवस्थापनका लागि कुल १ करोड १० लाख ६९ हजार बजेट अनुमान गर्दै शिक्षा सम्बन्धी ऐन पारित गरेको छ ।

सभामा गाउँपालिकाको कृषि प्रबर्धन तथा किसान शसक्तिकरण विधेयक–२०७७, जनशक्ति संगठन तथा ब्यवस्थापन (ओएनएम) कार्यबिधि–२०७७, गाउँपालिकाको भू–उपयोग नीति निर्माण र गत आबको अल्या बजेटको पौष मसान्ता सम्मको कार्य सम्पन्न खर्च एवं गाउँपालिकाको लेखा समिति कार्य संचालन नियमावली र पालिकाको कार्य संचालन निर्देशिका लगायतका विषयहरुमा छलफल गरि आवश्यक शंसोधन सहित पारित गरिएको अध्यक्ष यादवले जानकारी दिए ।

चालु आर्थिक बर्षमा गढवा गाउँपालिकाको कुल ६६ करोड, ७ लाख ५१ हजार बजेट रहेकोमा हाल सम्म गाउँपालिकाले चालुखर्च अन्तर्गत २७.११ प्रतिशत अर्थात् ११ करोड ३६ लाख ५७ हजार र पुजिगत खर्चतर्फ ३३.४६ प्रतिशत अर्थात् १० करोड ३९ लाख २८ हजार गरि २१ करोड ७५ लाख ८५ हजार खर्च गरेको सभामा जानकारी गराइएको हो । गढवा गाउँपालिकाका कुल ४ सय ११ योजनाहरु मध्ये २ सय १९ संझौता भई कार्यान्वयन चरणमा रहेका र गत आब र यस बर्षका समेत १९२ योजनाहरु सम्पन्न भईसकेका गाउँपालिकाले जनाएको छ ।

यसै गरी प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रममा ६० लाख बजेट रहेकोमा कुल ११ वटा योजनाहरु तय भई कार्यान्वयन चरणमा रहेको पाइएको छ । स्थानीय पुर्वाधार साझेदारीमा ६० लाख रकम रहेको र पालीकाले तर्जुमा गरेका कानूनहरु मध्ये ५ वटा ऐन, १ नियम तथा निर्देशिका, १३ वटा कार्यबिधि र ३ वटा नियमावली पास भई कार्यान्वयनमा आएको गाउँपालिकाले जनाएको छ ।

गढवा गाउँपालिकाले यस आर्थिक बर्ष सम्म १ करोडको लागतमा सर्पदंश अस्पताल र सेना बस्ने ट्रष्ट निर्माण गरि संचालनमा ल्याएको,सबै वडा कार्यालय भवनहरु निर्माण गरिसकेको, ४ करोड ७५ लाखको लागतमा ४२ कोठा तथा सभाहल सहितको जिल्लाकै अध्याधुनिक प्रशासकिय भवन निर्माण गरि संचालनमा ल्याएको, वडा नं. ६ मा ११ वटा ब्यापारिक सटरहरु निर्माण गरि बाहालमा दिएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए ।

यसैगरी आम्दा नेपाल संगको समन्वय सहकार्यमा कालाकाटे र चिमचिमेमा सामुदायिक स्वास्थ्य इकाई र मुसी तथा खबरी नाकामा गाउँघर क्लिनीक भवनहरु निर्माण गरेको तथा कोइलाबासमा आँखा अस्पताल एवं भ्यूटावर निर्माण गरेको सभामा जानकारी गराइएको थियो । चालु आर्थिक बर्षमा गढवा गाउँपालिकाले बिभिन्न वडाहरुमा गरि १३ किमि सडक कालोपत्रे र सबै वडाहरुमा सडक ग्राभेल, स्तरोन्नती र पक्कीनाली निर्माण लगायत केहि विद्यालयका भौतिक पुर्वाधार बिकासका कार्यहरु सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ ।

स्थानीय सरकार संचालन ऐन–२०७४ बमोजिम कार्यक्रममा प्रस्तुत गरिएका बिधेयक, कार्यबिधि र निती तथा कानूनहरु माथी आबश्यक छलफलका साथ परिमार्जन सहित पारित गरिएको र केही बजेटका योजनाहरु शंसोधन तथा रकमान्तर भएको गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे