गढवामा रोजगार प्रबर्धन गर्न युवाहरुलाई प्राविधिक तालिम



गढवामा रोजगार प्रबर्धन गर्न युवाहरुलाई प्राविधिक तालिम

गढवा २२ फागुन । गढवा गाउँपालिकाको मुख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत युवाहरुलाई रोजगार प्रबर्धन गर्न प्राबिधीक तालिम दिन थालिएको छ । जस अन्तर्गत १६ जनालाई कम्प्युटर हार्डवेयर, २२ जनालाई पलम्बर र २० जनालाई इलेक्ट्रोनिक्स तालिम दिन थालिएको गाउँपालिकाका कार्यक्रम सहजकर्ता गिरिराज भट्टले जानकारी दिएका छन् ।

तारा इलेक्ट्रकल इन्स्टिच्यूट तथा रिसर्च सेण्टर प्रालि राप्ती दाङको आयोजनामा शनिवार तालिमको उद्घाटन गरिएको छ । प्रालिका अध्यक्ष ताराप्रसाद भुसालको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष यादवले बेरोजगार युवाहरुलाई सिप प्रदान गरि रोजगारीमा आत्मनिर्भर बनाउन यस्तो तालिमको आयोजना गरिएको बताए । कुल ४२ जनालाई तिन किसिमको ६५ दिने प्राबिधिक तालिम दिएर रोजगार प्रबर्धन गर्न थालिएको उनले बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले रोजगारी सृजना गरि आयआर्जन र जिविकोपार्जनमा लक्षित गर्न बिपन्न सिमान्तकृत वर्गका युवाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउन थालिएको बताए । रोजगार कार्यक्रम अन्तर्गत गढवाको वडा नं. १ र २ लाई लक्षित गरि १५ जना महिलाहरुलाई मसिन हस्तान्तरण सहित सिलाई कटाई तालिम दिने योजना पनि रहेको कार्यक्रम संयोजक गिरिराज भट्टले जानकारी दिए ।

सो अवसरमा गाउँपालिकाका प्रशासन शाखाका प्रमुख पुनाराम शर्मा, प्रधानमन्त्री रोजगार कार्यक्रमका रोजगार सुचना केन्द्र अधिकृत अशोक कुमार यादव र कार्यक्रम छनोट तथा सिफारिस समितिका सदस्य मधा न्यौपाने र भगवतीप्रसाद चौधरी लगायतले बोलेका थिए । कार्यक्रमको संचालन सहजकर्ता गिरिराज भट्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे