LISTEN LIVE RADIO

गढवाको पाँच बर्षे बिकास योजना बनाउन बृहत कार्यशाला



गढवाको पाँच बर्षे बिकास योजना बनाउन बृहत कार्यशाला

गढवा १६ फागुन । देउखुरीको गढवा गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य पर्यटन र पुर्वाधार समग्र पालिकाको समृद्धिको आधार अन्तर्गत पाँच बर्षे बिकासका आवाधिक योजना निर्माणका लागि आइतवार बृहत कार्यशाला सम्पन्न गरेको छ ।

गाउँपालिकाको समन्वय र सहकार्य तथा प्लाटफर्म इन्जीनियरिङ कन्सलटेन्सी प्रा.ली काठमाडौको आयोजनामा कार्यक्रम गरिएको हो । परामर्शदाता कम्पनिले गढवा गाउँपालिकाका आठवटै वडाहरुमा एक हप्ता सम्मको फिल्ड अध्ययन गरि संकलन गरेका तथ्यांकका आधारमा पाँचबर्षे बिकास योजनाको खाका कार्यशालामा प्रस्तावित गरिएको हो ।

जस अन्तर्गत आर्थिक, सामाजिक, पुर्वाधार बिकास, वन वातावरण र बिपद ब्यवस्थापन एवं सुशासन तथा संस्थागत बिकास अन्तर्गतका सुच्छ्म योजनाहरु तयार गरि कार्यक्रममा प्रस्ताव गरिएको योजनाबिद् शर्मिला पौडेलले बताएकी छिन् । गत एक साता अगाडी परियोजना आरम्भ कार्यशाला पछि झण्डै आठदिन सबै वडाहरुको स्थलगत अध्ययन पछि आवाधिक योजनाका खाका ल्याइएको उनले बताइन् ।

गढवा गाउँपालिकाको समग्र बिकास अन्तर्गत ५ बर्षका बिकासका योजना र अल्पकालिन योजना अन्तर्गत बार्षिक योजनाहरु तयार गरि कार्यशालामा प्रस्तुत गरिएको परामर्शदाता कम्पनीका योजनाबिद् पौडेलले जानकारी दिइन् । नेपाल सरकारको कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश सरकारको निती बमोजिम हरेक स्थानीय सरकारहरुले आवाधिक योजना बनाउनुपर्ने भएको कार्यक्रममा बताईएको हो ।

दिर्घकालिन, मध्यकालिन र अल्पकालिन आवाधिक योजना निर्माण भएपछि संघ र प्रदेश सरकारबाट अनुदान बजेट आउने भएकोले बिकास र समृद्धिको मेरुदण्ड नै आवाधिक योजना निर्माण रहेको कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए । आवाधिक योजना तयार गर्न निर्देशक समिति र बिषय क्षेत्रगत समितिहरु गठन गरि सबै वडाहरुमा पुगेर फिल्ड अध्ययन पश्चात् मिहिन ढंगले योजनाहरु संकलन गरिएको बताइएको छ ।
तयार पारिएका पञ्चबर्षिय योजनाहरुको खाका कार्यपालिका हँुदै हिउँदे अधिवेशनबाट पारित गरिने गाउँपालिकाले जनाएको छ ।

जसमा आर्थिक बिकास, पर्यटन बिकास, उद्याम ब्यवसाय, शैक्षिक बिकास, बेंक, बित्तिय संस्था र सहकारी प्रबर्धन, स्वास्थ्य, खानेपानी सरसफाई, लैंगिक हिंसा न्यूनिकरण तथा महिला शसक्तिकरण, वालमैत्री कार्यक्रम, जेष्ठ नागरिक, अपांगता भएका नागरिक तथा यौनीक अल्पसंख्यक, युवा तथा खेलकुद, वन वातावरण र बिपद् बयवस्थापन, पुर्वाधार बिकास र सुशासन एवं संस्थागत बिकासका खाकाहरु तयार पारिएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनीधि, संघसंस्थाहरु, बिषयगत शाखाका प्रमुखहरु, कर्मचारीहरु र गाउँपालिकाभरका सरकारी बिद्यालयका प्रअहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे