देउखुरीकाे गढवामा ढकिया बुनाईमा महिलाहरुको आर्कषण



देउखुरीकाे गढवामा ढकिया बुनाईमा महिलाहरुको आर्कषण

शिबराज पन्थी,गढवा २३ माघ ।

गढवा गाउँपालिका वडानं.३ रतनपुरकी सुलोचना चौधरी झण्डै १ घण्टाको बाटो साइकिलमा सवार गरेर गढवामा ढकिया बुनाई तालिम सिक्न जान्छिन । उनी जस्तै गढवा ४ खड्कपुरकी सविता चौधरी पनि पहिलो पल्ट ढकिया बुनाई सिक्न निकै जाँगर लगाएर एक महिना सम्म गढवा बजारमा आउने गरेको बताउँछिन । पुराना पुस्ताले ढकिया बुन्न जानेका भएपनि हामी नयाँ पुस्ताले जान्दैनौ । ढकियाको माग दिनप्रतिदिन बढ्न थालेकोले सिक्न निकै कोशिस गरेका छौंं । नयाँ पुस्ताले परानो कला संस्कृतिको संरक्षण गर्नुपर्छ–उनले भनिन् रोजगारीका लागि पनि राम्रो अवसर छ ।

त्यसो त कहिल्यै नगरेको काम र नाम नै थाहा नभएका सामानहरु प्रयोग गरि ढकिया बुनाई तालिममा यादव समुदायबाट गढवा–६ प्रनाहाकी मिरा यादवलाई पनि ढकिया बुनाईको आकर्षणले एक्लै भएपनि तानेको छ । नामै थाहा नभएका मुञ्ज,फुजा,छेद्ना लगायतका धेरै सामाग्रीहरुको नाम थाहा पाएँ । एक महिनाभित्र टोपि,ढकिया,पुजादानी र तसला तयार गरें । अब मजाले घरमै बसेर सामान किनेर ढकिया बनाउन सक्छु–यादवले भनिन् ।

गढवामा मिझनी होटल संचालन गरेकी सुलाचन चौधरीले पनि ढकिया बुनाईको आकर्षण रोजेकी छिन । गढवा–६ कि निता चौधरी र सरस्वती चौधरीले गतबर्ष ढकिया बुनाईको आधारभूत तालिम सिकेको र यसबर्ष दक्ष बनेको बताईन । गढवा बजारका मानु कुमाल,कृष्णलता चौधरी र उत्तम चौधरीले ढकिया बुनाईको थारु संस्कृति लोप हुन थालेकोले संरक्षणको अभियानमा गाउँपालिकासंग समन्वय गरेर तालिम ल्याएको बताए । गाउँपालिकाको सात लाख बजेटबाट एक महिना सम्म २ जना प्रशिक्षक राखी ३३ जना महिलाहरुलाई ढकिया बुनाई तालिम सिकाएको सृजना महिला समुहका अध्यक्ष मानु कुमालले बताए ।

२०७५ मा २ लाख,०७६ मा ५ लाख र यो बर्ष संघीय सरकारद्धारा हस्तान्तरित सिपमुलम तालिम अन्तर्गत ७ लाख बजेट ढकिया बुनाईको सिप प्रबर्धनमा गाउँपालिकाले लगानी गरेको र हालसम्म ८८ जना महिलाहरुले ढकिया बुनाई तालिम लिएर दक्ष बनिसकेको गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले बताईन । गढवाका थारु र गैह्र थारु महिलाहरु समेत ढकिया बुनाइको आकर्षण रोज्न थालेका छन् उनले भनिन् । तिन बर्षको तालिमबाट ३ जना दक्ष प्रशिक्षकहरु समेत तयार भएको गाउँपालिकाले जनाएको छ ।

यसैबिच गढवा गाउँपालिकाको टिमले ढकिया बुनाई तालिमको अनुगमन तथा अवलोकन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी,प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी,प्रशासन शाखा प्रमुख पुनाराम शर्मा,योजना शाखाका प्रमुख कुलराज कुमाल र पत्रकारहरु दुखहरण यादव तथा शिबराज पन्थी लगायतको टिमले तालिमको अनुगमन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे